नेपाल लाइफभित्रको काइदाः बीमितको बोनस काटेर शेयरधनीलाई लाभांश, नियमन खोई ?

३ मंसिर २०८३, बिहीबार १३:२२

काठमाडौं । ठूला जीवन बीमा कम्पनीहरुले बीमितले पाउने भाग खोसेर कसरी कम्पनीका शेयरधनीलाई पोसेका छन् भन्ने उदाहरण हेर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पछिल्लो तीन बर्षको लाभांश र बोनस दर हेर्दा छर्लङ्ग हुन आउँछ ।

नेपाल लाइफ इन्स्योरेन्सले आव २०७७।०७८ मा १५.७९ प्रतिशत लाभांश दिएको थियो । त्यसैगरी, आव २०७८।०७९ मा लाभांश नै दिन सकेन र शून्य लाभांश घोषणा गरियो । सो बर्ष नेपाल लाइफका बीमितले पाउने बोनसदर सबैभन्दा राम्रो थियो । सो बर्ष अग्रिम भुक्तानीमा ५६ रुपैयाँ थियो भने सावधिक बीमालेखहरुमा ६० रुपैयाँ भन्दा माथि अवधी हेरेर प्रतिवर्ष प्रतिहजारका दरले थियो ।

त्यसपछिको आव २०७९।८० मा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश प्रदान गरेको थियो । तर, सो बर्ष बीमितले पाउने बोनसमा उच्च ह्रास आयो । सो बर्ष अग्रिम भुक्तानी सम्बन्धी बीमालेखमा ५० रुपैयाँ र सावधिक बीमालेखहरुमा ५६ रुपैयाँ प्रतिबर्ष प्रतिहजार तथा अवधी अनुसार सो भन्दा माथि ८५ रुपैयाँसम्म बोनसदर तोकिएको थियो ।

त्यस्तै, आव २०८०।८१ मा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई दिने लाभांश २१.०५ प्रतिशत नै कायम राख्यो र बीमितले पाउने बोनस पनि केही बृद्धि गरियो । यसको पछाडि फ्युचर बोनस प्रोभिजनलाई हेराफेरी गरिएको चर्चा छ । यसको छानविन गरिएको छैन । बीमा अभिकर्ताहरुले आन्दोलन गरेपछि कम्पनीले केही बृद्धि गर्न बाध्य भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक बर्ष २१ प्रतिशत लाभांश शेयरधनीलाई दिँदै आएको छ । तर, यता बोनस भने घटेको पाइएको छ । बीमितले पाउने बोनस घटाइएकोबारे बीमा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

आव २०८१।०८२ का लागि निर्धारण भएको बोनसदर भन्दा पनि यस वर्ष बोनस अझै तल झरेर आउने विश्लेषण बजारमा चलिरहेको छ । यद्यपि यो एक्चुरी भ्यालुएशनको प्रक्रियामा रहेकोले अहिले नै यकिन गर्न सकिने अवस्था छैन । तर कम्पनीले शेयरधनीलाई दिने लाभांश भने पछिल्लो तीन बर्ष स्थीर राखेको छ । अचम्म र रोचक कुरा बीमा कम्पनीहरुमा लाभांश दिन स्रोत तानतुन गर्न सम्भव छैन । तर पछिल्लो तीन वर्षमा समान लाभांश दर २१.०५ कसरी सम्भव भयो ।

बीमा कम्पनी बीमितको पैसामा सञ्चालित सार्वजनिक निकाय हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा शेयरधनीहरुको रकम जम्मा नौ अर्ब रुपैयाँ छ भने बीमितको दुई सय अर्ब अर्थात दुई खर्बभन्दा बढि छ । बीमितको पैसाबाट कम्पनीले गरेको आम्दानीले बीमितलाई न्यूनतम ५.६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म बोनस दिँदै आएको छ भने शेयरधनीलाई २१ प्रतिशत लाभांश दिँदै आएको पाइएको छ । नौ अर्ब लगानी गर्नेलाई २१ प्रतिशत अनि दुई खर्ब भन्दा बढि लगानी गर्ने बीमितलाई औसतमा ६ प्रतिशत प्रतिफल न्यायचित हुन्छ र ? प्रश्न उठेको छ ।

जीवन बीमा कम्पनीहरुको लाभांश बीमाङ्कीय मूल्याङ्कनको क्रममा निर्धारण गरिन्छ । एक्चुरीसँग मिलेर जनताको पैसा लगानी गरेर प्राप्त आम्दानी शेयरधनीलाई वितरण गर्ने गम्भिर खेलप्रति नियामक नेपाल बीमा प्राधिकरणको ध्यान कहिले जाला ?

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*