पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मलेसिया जाने नेपाली कामदारबाट अतिरिक्त शुल्क असुली गरी ठगी गरेको प्रकरणमा पक्राउ परेका पूर्वश्रममन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चार दिनको म्याद दिएको हो ।
सीआईबीले बुधबार तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको थियो। उनीहरूसँगै तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्। यस प्रकरणमा तत्कालीन श्रमसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ।
रामेश्वर राय यादव तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७६ सालमा करिब एक वर्ष श्रममन्त्री बनेका थिए। सर्लाही घर भएका यादव पछिल्लो समय जनता समाजवादी पार्टी, नेपालमा आबद्ध छन्।
त्यस्तै, शेरबहादुर कुँवर तत्कालीन एकीकृत समाजवादी पार्टीका तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७९ सालमा करिब ६ महिना श्रममन्त्री भएका थिए।











