आम उपभोक्तालाई महँगीको झट्का, मुद्रास्फीति १.४७ बाट ६.३७ प्रतिशतमा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८३/८४ को तीन महिनाकोऔसत मुदास्फीति ६.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.४४ प्रतिशत, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.९७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।
यता, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशत र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.२८ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सवैभन्दा बढी मधेश प्रदेशको ७.३७ प्रतिशत र सवैभन्दा कम सुदूरपश्चिम प्रदेशको ५.१३ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९२ प्रतिशत, तराईको ६.८८ प्रतिशत, पहाडको ६.१४ प्रतिशत र हिमालको ५.५७ प्रतिशत रहेको छ ।











