एनआईसी एसिया बैंकको खराव कर्जा कति ? राष्ट्र बैंकभित्र अलमल कि सेटिङ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त एनआईसी एसिया बैंकको वित्तीय विवरण नै भद्रगोल देखिएको छ । बैंकको खराव कर्जालाई जम्मा १८ अर्ब ७६ करोड मात्रै देखाएर बैंकको खराव वित्तीय अवस्था लुकाइएको बैंक स्रोतको दावी छ ।
स्रोतका अनुसार बैंकको खराव कर्जा करिब ५६ अर्ब रुपैयाँ छ । सो सम्बन्धमा जिज्ञाशा राख्दा सिईओ सुरज शाक्यले कुनै प्रतिक्रिया नदिई मौन बसे । बीमापोष्टलाई उक्त खराव कर्जाको सूचना अत्यन्तै गोप्य रुपमा प्राप्त भएको थियो । सो सूचनालाई प्रमाणित गर्न बैंकमा अनौपचारिक स्रोतसँग सम्पर्क गर्दा बैंकको वित्तीय विवरणहरु अत्यन्तै गोप्य र लक गर्न गरिएको जानकारी प्राप्त भयो । तर, जिम्मेवार पदमा रहेका सिईओ शाक्यले भने कुनै प्रतिक्रिया नदिई मौन बसे ।
बैंकले केही दिन अघि प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणमा करिब १८ अर्ब ७६ करोड रुपैयाँ मात्रै खराव कर्जा रहेको भनि करिब २१ अर्ब ५४ करोड रुपैयाँ प्रोभिजन गरेको पाइएको छ ।
कूल एक खर्ब ९१ अर्ब २० करोड छ लाख रुपैयाँ ऋण तथा सापटी प्रवाह गरेको बैंकको खराव कर्जा ५६ अर्ब नजिक पुगेको बैंक स्रोतको दावी छ । बैंकले उक्त यथार्थ लुकाएर वित्तीय विवरणमा १८ अर्ब मात्रै देखाइएको हो ।
स्रोतका अनुसार बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरका लागि वित्तीय विवरण नै भद्रगोल बनाइएको छ । बैंकले हकप्रद शेयर निष्काशनको अनुमति पाएर प्रक्रिया अघि बढाइसकेको छ ।
बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरु सेटिङ गर्न माहिर रहेका छन् । बैंकका अधिकारीहरुले अनसाइट इन्स्पेक्सनको क्रममा के हेरेका छन् ? प्रश्न उठेको छ । राष्ट्र बैंकका कर्मचारीहरु तथा उच्च अधिकारीहरु विदेश भ्रमण, थाईल्याण्ड भ्रमणको स्कीम पाएपछि वित्तीय अपराधलाई उन्मुक्ति दिने गरेको तथ्य प्रभु बैंक र कर्णाली विकास बैंक काण्डमा स्पष्ट भइसकेको छ ।
एनआईसी एसिया बैंकभित्रको वित्तीय अपराधलाई नेपाल राष्ट्र बैंकले कारवाही नगरी उन्मुक्ति दिँदै आएको छ । स्रोतका अनुसार एनआईसी एसिया बैंकले खराव कर्जा लुकाएको सम्बन्धी सूचना राष्ट्र बैंकभित्र पनि भुसको आगो झै फैलिइसकेको छ । तर छानविन गर्न किन अलमल भइरहेको छ ? आश्चर्यजनक छ । आखिर कहिलेसम्म नेपाल राष्ट्र बैंकले यसरी उन्मुक्ति दिइरहन्छ ? प्रतिक्षाको विषय बनेको छ ।











