कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी

काठमाडौँ । चीनसँगको व्यापारका लागि महत्त्वपूर्ण बन्दै गएको मुस्ताङको कोरला नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) आयात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै यस नाकाबाट ७ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार २२३ वटा मात्रै ईभी आयात भएकामा यस वर्ष उक्त संख्या करिब ११७ प्रतिशतले बढेको हो ।
रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि चीनबाट हुने आयातका लागि कोरला नाकाको प्रयोग बढेको देखिन्छ । वैकल्पिक व्यापारिक मार्गका रूपमा कोरलाको उपयोग विस्तार भएसँगै यहाँबाट विद्युतीय सवारीसाधनलगायत विभिन्न वस्तुको आयात तीव्र भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । भन्सारका अधिकृत अमिन्द्र सिंहका अनुसार साउन महिनामा १०० वटा ईभी आयात भएका थिए भने भदौमा १ हजार २५३ वटा भित्रिएका थिए । त्यसपछि असोज र कात्तिकमा मात्रै थप ५ हजार ६४७ वटा विद्युतीय सवारीसाधन नेपाल आएका हुन् ।
सवारीसाधन आयातमा आएको यही वृद्धिले कोरला भन्सारको राजस्व संकलनमा समेत ठूलो योगदान पुर्याएको छ । चालु आर्थिक वर्षका लागि ९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएकोमा पहिलो चार महिनामै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ संकलन भइसकेको छ । यो निर्धारित वार्षिक लक्ष्यभन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी हो । आर्थिक वर्षको एक तिहाइभन्दा केही बढी अवधिमै लक्ष्य नाघ्नुले कोरला नाकाबाट भइरहेको आयातको परिमाण र त्यसले सरकारी राजस्वमा पारेको प्रभाव देखाउँछ ।
यस अवधिमा चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका वस्तुको कुल मूल्य ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ पुगेको छ । ईभीबाहेक लत्ताकपडा, विद्युतीय उपकरण, कस्मेटिक सामग्री, निर्माणमा प्रयोग हुने सामान, फलफूल तथा खाद्यान्न पनि ठूलो परिमाणमा आयात भएका छन् । विभिन्न वस्तुको आयात बढेसँगै लामो समयसम्म तुलनात्मक रूपमा कम प्रयोगमा रहेको कोरला नाकाले नेपालको उत्तरी व्यापारिक मार्गका रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।
तर, आयातको गति बढे पनि सामान गन्तव्यसम्म पुर्याउने व्यवस्थापन सहज बन्न सकेको छैन । विशेषगरी मुस्ताङबाट देशका अन्य सहरसम्म विद्युतीय सवारीसाधन ढुवानी गर्दा सडकको अवस्था चुनौतीपूर्ण बनेको छ । जोखिमपूर्ण सडक खण्ड र दक्ष चालकको अभावका कारण व्यवसायीले समस्या झेलिरहेका छन् ।











