रक्सौल–काठमाडौं रेलमार्गको नाममा दुर्लभ युरेनियम कब्जा गर्दै भारत

काठमाडौं । नेपालको राजधानी काठमाडौंलाई भारतीय रेल सञ्जालसँग जोड्ने उद्देश्यले २०७८ सालमा शुरु गरिएको रक्सौल–काठमाडौं रेलमार्गको भित्री आशय विश्वकै दुर्लभ र नेपालमाथि भूरणनीतिक हस्तक्षेपको कारक रहेको युरेनियम कब्जा गर्ने भित्री आशय रहेको भेटिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग अनुदानमा रेलमार्ग बनाउन प्रस्ताव गर्दा भारतले सहमति जनाएको परियोजना हो रक्सौल–काठमाडौं रेलमार्ग । तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुजी महासेठको पालामा उक्त परियोजना अघि बढाउने सम्झौता भएको थियो ।
रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर निर्माणको लागि २०७८ असोज २२ गते भारतीय टोली र नेपालको रेल विभागका बीचमा एमओयू सम्झौता सम्पन्न भई अध्ययन अघि बढेको थियो । यो सम्झौता हुँदाका बखत रेणु कुमारी यादव भौतिक पूर्वाधार मन्त्री थिइन् भने शेर बहादुर देउवा प्रधानमन्त्री थिए । डीपीआर बनाउने ठेक्का पाएको भारतीय कम्पनी केआरसीएलले भारतीय योजना मुताविक नै मकवानपुरको धियातमा वर्षौं पहिले पत्ता लागेको युरेनियमको खानी भएकै स्थानबाट रेल निर्माण गर्ने प्रस्ताव नेपाल समक्ष गरेको थियो । सो प्रस्तावलाई तत्कालीन सरकारले २०८० सालमा स्वीकृत प्रदान गरेको भेटिएको छ । २०८० सालमा रेलमार्गको डीपीआर स्वीकृत गर्दा प्रधानमन्त्रीमा प्रचण्ड थिए भने भौतिक पूर्वाधार मन्त्री थिए प्रकाश ज्वाला । नेपाल सरकारले सिधै युनियम खनिज भएको स्थानबाट रेल बनाउने भनेर स्वीकृत दिएको नभई भारतीय पक्षले प्रस्ताव गरेकै रुटलाई स्वीकृत गरिएको हो ।
कुल १४०.७९ किलोमिटर लामो रेलमार्गमा कुल २२३ वटा साना ठूला पुलहरु निर्माण गरिने प्रस्ताव गरिएको छ । रेलमार्गमा जम्मा १२ वटा स्टेशन राख्न प्रस्ताव गरिएको सो आयोजनाको कुल लागत तीन खर्ब ८२ अर्ब रुपैयाँ अनुमानित गरिएको छ । उक्त लागत सिभिल निर्माणको मात्रै हो । जग्गा अधिग्रहण लगायतका लागत जोड्दा चार खर्ब नाघ्ने अनुमान छ । उक्त लागत उति बेलाको हो । अहिले मूल्यवृद्धिका कारण पाँच खर्ब पुग्न सक्नेछ ।
नेपालको पूर्व–पश्चिम राजमार्ग बनाउन सहयोग गर्ने नाममा भारतले अर्बौं मूल्यका सालका काठ भारत लगेर रेलको पटरी बनाएको घटनापछि सबैभन्दा ठूलो विकास सहयोगको नाममा दुर्लभ खनिजमाथि आफ्नो पहुँच स्थापित गर्न खोजेको छ । नेपाल पक्षले माग गरे अनुसार भारतले अनुदानमा निर्माण गर्न लागेको उक्त रेलमार्गको डीपीआर समेत भारत सरकारले आफ्नै खर्चमा तयार गरेको हो । सोही कारण आफूलाई फाइदा हुने गरी युरेनियम कब्जा गर्ने रणनीति अन्तर्गत रक्सौल–काठमाडौं रेलमार्गको परियोजना अघि सारिएको देखिन आएको छ ।
मकवानपुर जिल्ला हालको बकैया गाउँपालिका वडां २, तीन भंगाले यही धियालमा पर्दछ । रक्सौल–काठमाडौं रेलमार्गको रेखांकनमा मकवानपुरको धियाल परेको रेल विभागले स्वीकार गरेको छ । तत्कालीन समयमा रेल विभागमा काम गरेका एक पूर्व पदाधिकारीले भने, ‘प्रस्तावित रेलमार्ग र युरेनियम खानी एकै ठाउँमा पर्छ ।’
खानी तथा भू–गर्भ विभागका अनुसार मकवानपुरको धियालमा करिब ४७ मेट्रिक टन युरेनियम भण्डारण रहेको छ । सन् १९९० को दशकमा गरिएको अध्ययन अनुसार करिब १५ हजार टन युरेनियमयुक्त कच्चा पदार्थ रहेको र यसबाट कम्तीमा ३५ देखि ४७ टनसम्म शुद्ध युरेनियम निकाल्न सकिन्छ । धियालमा रहेको युरेनियम उच्च गुणस्तरको भएको र जमीनको सतहबाट बाहिरै देखिने अवस्थामा छ । सोही कारण सो क्षेत्रमा रेडियोधर्मी विकिरण समेत निकै उच्च रहेको पाइएको छ । जमीनबाट धेरै माथि भएकोले उक्त स्थानबाट रेलमार्ग बनाउन अनुमति दिएको खण्डमा भारतले उक्त युरेनियम रातारात तस्करी गरेर पुर्याउनेतर्फ सरकारले ध्यान दिएको पाइएको छैन ।











