ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको लगानी विस्तारः वर्षदिनमा थपियो ८१ अर्ब, हिमालयनसहित ३ बैंकको घट्यो

७ मंसिर २०८३, सोमबार १२:१५

काठमाडौँ । वाणिज्य बैंकहरूले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा गरेको लगानी ५ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकको ऊर्जा क्षेत्रमा कुल ५ खर्ब २५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ लगानी पुगेको हो ।

यो लगानी गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १८.१८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकहरूले ऊर्जा क्षेत्रमा ४ खर्ब ४५ अर्ब १ करोड ४९ लाख रुपैयाँ लगानी गरेका थिए। एक वर्षको अवधिमा बैंकहरूको ऊर्जा क्षेत्रतर्फको लगानी ८० अर्ब ९० करोड २ लाख ५० हजार रुपैयाँले थपिएको देखिन्छ।

ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। समीक्षा अवधिसम्म बैंकले यस क्षेत्रमा ५७ अर्ब ५४ करोड २९ लाख ३० हजार रुपैयाँ लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८० करोड ९३ लाख २० हजार रुपैयाँ लगानी गरेको नबिलको लगानी एक वर्षमा ३७.६३ प्रतिशतले बढेको हो।

दोस्रो स्थानमा रहेको कुमारी बैंकले ५५ अर्ब १२ करोड ८ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ। बैंकको यस्तो लगानी गत वर्षको ४० अर्ब ८१ करोड २३ लाख ९० हजार रुपैयाँबाट ३५.०६ प्रतिशतले वृद्धि भएको हो।

तेस्रो स्थानमा रहेको एनआईएमबीले ३६ अर्ब १२ करोड ५७ लाख ९० हजार रुपैयाँ लगानी गरेको छ। बैंकको लगानी ११.५७ प्रतिशतले बढेको हो। चौथो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकले ३५ अर्ब ६० करोड १४ लाख ६० हजार रुपैयाँ लगानी गर्दा यसको वृद्धि १५.२६ प्रतिशत रहेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ३३ अर्ब २४ करोड ५ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ।  छैटौँ स्थानमा रहेको सानिमा बैंकले ३२ अर्ब ६६ करोड १५ लाख ३० हजार रुपैयाँ लगानी गरेको छ।

एभरेस्ट बैंकले ३१ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ, एनएमबी बैंकले ३० अर्ब ७३ करोड ३५ लाख ४० हजार रुपैयाँ, प्राइम बैंकले २७ अर्ब ६३ करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ९ करोड ५ हजार ३० हजार रुपैयाँ,  सिटिजन्स बैंकले २५ अर्ब ८२ करोड ४ लाख ९० हजार, सिद्धार्थ बैंकले २३ अर्ब २८ करोड ५९ लाख २० हजार,  प्रभु बैंकले १९ अर्ब ६१ करोड ४४ लाख, हिमालयन बैंकले १९ अर्ब २४ करोड ६४ लाख ४० हजार, नेपाल बैंकले १७ अर्ब ७८ करोड ८४ लाख, माछापुच्छ्रे बैंकले १७ अर्ब २६ करोड ३६ लाख ७० हजार रुपैयाँ, कृषि विकास बैंकको ऊर्जा क्षेत्रतर्फको लगानी १४ अर्ब २८ करोड ७६ लाख ५० हजार रुपैयाँ पुगेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब ३० करोड ५९ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*