शेयर बजारमा सुधारको संकेत: कारोबार ६ अर्बमाथि, लगानीकर्ताको मनमा अझै त्रास

काठमाडौँ । शेयर बजार लगातार तीन दिनदेखि सुधारको क्रममा रहे पनि लगानीकर्ताको मनोबल भने अझै उकासिन सकेको छैन । बजारमा देखिएको निरन्तरको उतारचढाव र अनिश्चितताका कारण साना तथा ठूला लगानीकर्ता लगानी सुरक्षालाई लिएर सशंकित छन् ।
सूचकमा सामान्य सुधार देखिए पनि अपेक्षित गति र स्थिरता कायम हुन नसक्दा नयाँ लगानीकर्ता बजार प्रवेश गर्न हिचकिचाइरहेका छन् भने पुराना लगानीकर्ता थप लगानी गर्ने कि भएको पोर्टफोलियो जोगाउने भन्ने अन्योलमा छन् । चाडपर्वपछि तरलता बढ्ने, आर्थिक गतिविधि चलायमान हुने र त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने अपेक्षासहित बजार प्रवेश गरेका लगानीकर्ताको उत्साहसमेत निरन्तरको गिरावटले खस्किएको छ । अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकबाट पूँजी बजारलाई सहज बनाउने नीतिगत प्रयास भइरहेका छन् भने बैंक तथा वित्तीय संस्थाको ब्याजदर र कर्जाको लागत पनि न्यून अवस्थामा छ । अर्थतन्त्रका सूचकमा सुधारका संकेत देखिए पनि त्यसको प्रभाव शेयर बजारमा देखिन नसक्दा माग र कारोबार दुवै अपेक्षित रूपमा बढ्न सकेका छैनन् ।
लगानीकर्ताको मनोबल कमजोर हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी सरकारी अनुसन्धान, सूचीकृत कम्पनीहरूको कमजोर वित्तीय अवस्था र अपेक्षाअनुसार लाभांश नपाउनुलाई प्रमुख कारणका रूपमा हेरिएको छ । सरकारले अवैध सम्पत्ति तथा त्यसको स्रोत पहिचान गर्ने अभियान तीव्र बनाएपछि पूँजी बजारमा लगानीको स्रोतलाई लिएर लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारमा स्वच्छ लगानीलाई प्राथमिकता दिने विषयमा अभिव्यक्ति दिएपछि ठूला लगानीकर्तासमेत कारोबारमा थप सतर्क देखिएका छन् ।
अर्कोतर्फ, कम्पनीहरूको वित्तीय विवरण र लाभांश घोषणाले अपेक्षित प्रतिफल दिन नसक्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ, लाभांश क्षमता तथा भविष्यको व्यावसायिक सम्भावनालाई आधार बनाएर लगानी गर्नेहरू समेत अहिले निर्णय लिन हिचकिचाइरहेका छन् । यसरी नीतिगत सहजीकरण र आर्थिक सूचकमा सुधारका बाबजुद लगानीकर्ताको विश्वास फर्किन नसक्दा शेयर बजारमा सुधारको संकेत देखिए पनि उत्साह र अपेक्षित गति भने कायम हुन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६६ अकंले बढेर २६४७.६१ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचकमा हरियाली आएको छ भने ३ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन र माइक्रोफाइनान्सको शेयर मूल्य घटेको हो ।
बुधबार १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












