टिकेन शेयर बजारको सुधारः गुम्दै छ लगानीकर्ताको लगानी, प्रवेश गर्ने कि एक्जिट हुने ?

१० मंसिर २०८३, बिहीबार १५:०४

काठमाडौँ । लगातार तीन दिनको सुधारपछि शेयर बजारमा आज पुनः गिरावट आएको छ । पछिल्लो समय बजारमा ठूलो सुधार वा उल्लेख्य गिरावटभन्दा पनि झिनो अंकको उतारचढाव निरन्तर देखिँदै आएको छ । कहिले सामान्य सुधार त कहिले सामान्य गिरावटको प्रवृत्तिले बजारलाई दिशाहीन बनाएको छ । बजारमा देखिएको यही अनिश्चितताका कारण साना तथा ठूला लगानीकर्ता आफ्नो लगानीको सुरक्षालाई लिएर सशंकित देखिएका छन् । सूचकमा सामान्य सुधार देखिए पनि त्यसले अपेक्षित गति र स्थायित्व लिन नसक्दा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।

बजारमा स्थिरता र उत्साह कायम हुन नसक्दा नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाइरहेका छन् भने पुराना लगानीकर्ता थप लगानी गर्ने वा भएको पोर्टफोलियो जोगाउने भन्ने अन्योलमा छन् । चाडपर्वपछि वित्तीय प्रणालीमा तरलता बढ्ने, आर्थिक गतिविधि चलायमान हुने र त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने अपेक्षासहित बजार प्रवेश गरेका लगानीकर्ताको उत्साहसमेत क्रमशः कमजोर बन्दै गएको छ । यद्यपि, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकबाट पूँजी बजारलाई सहज बनाउने नीतिगत प्रयास भइरहेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर र कर्जाको लागत न्यून अवस्थामा रहनुका साथै अर्थतन्त्रका विभिन्न सूचकमा सुधारका संकेत देखिए पनि त्यसको प्रभाव शेयर बजारमा पर्न सकेको छैन । फलस्वरूप बजारमा माग र कारोबार दुवै अपेक्षित रूपमा विस्तार हुन सकेका छैनन् ।

लगानीकर्ताको कमजोर मनोबल पछाडि सम्पत्ति शुद्धीकरणसम्बन्धी सरकारी अनुसन्धान, सूचीकृत कम्पनीहरूको कमजोर वित्तीय अवस्था र अपेक्षाअनुसार लाभांश प्राप्त नहुनुलाई प्रमुख कारणका रूपमा हेरिएको छ । सरकारले अवैध सम्पत्ति तथा त्यसको स्रोत पहिचान गर्ने अभियानलाई तीव्रता दिएसँगै पूँजी बजारमा लगानीको स्रोतलाई लिएर लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारमा स्वच्छ लगानीलाई प्राथमिकता दिने विषयमा अभिव्यक्ति दिएपछि ठूला लगानीकर्ता पनि थप सतर्क बनेका छन् । यसले बजारमा लगानी विस्तारभन्दा पनि जोखिम न्यूनीकरण र सावधानीपूर्वक कारोबार गर्ने प्रवृत्तिलाई बल पुर्‍याएको देखिन्छ ।

अर्कोतर्फ, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण र लाभांश घोषणाले पनि लगानीकर्ताको अपेक्षा पूरा गर्न सकेका छैनन् । कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ, लाभांश क्षमता र भविष्यको व्यावसायिक सम्भावनालाई आधार बनाएर लगानी गर्नेहरू समेत अहिले निर्णय लिन हिचकिचाइरहेका छन् । समग्रमा, नीतिगत सहजीकरण, न्यून ब्याजदर र अर्थतन्त्रका सूचकमा देखिएको सुधारले शेयर बजारमा सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिए पनि त्यसअनुरूप लगानीकर्ताको विश्वास फर्किन सकेको छैन । बजारमा सामान्य सुधारका संकेत देखिए पनि स्थायित्व, कारोबार विस्तार र लगानीकर्ताको मनोबलमा सुधार आउन नसक्दा शेयर बजार अझै पर्ख र हेरकै अवस्थामा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८९ अकंले घटेर २६३६.७५ बिन्दुमा कायम भएको छ । आज ३५५ कम्पनीको १ करोड ४६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज इन्भेष्टमेन्ट समूहको शेयर मूल्य मात्रै ०.७२ प्रतिशतले बढेको हो ।

बिहिबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*