पूर्व मुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

११ मंसिर २०८३, शुक्रबार १५:५६

काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले अनुसन्धान अघि बढाउन प्रहरीलाई चार दिनको समय दिएको हो ।

सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अर्याललाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको थियो । मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीमाथि छ ।

सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ । उक्त रकम विदेश पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*