काठमाडौंको खानेपानी र ढल निकास सुधार्न एडीबीको ८ अर्ब ४९ करोड सहायता स्वीकृत

११ मंसिर २०८३, शुक्रबार १७:५६

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास प्रणाली सुधारका लागि नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर (करिब ८ अर्ब ४९ करोड रुपैयाँ) बराबरको ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ ।

स्वीकृत सहायतामध्ये ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ३८ करोड रुपैयाँ) ऋण र ७५ लाख अमेरिकी डलर (करिब १ अर्ब ११ करोड रुपैयाँ) अनुदान रहेको एडीबीले जनाएको छ । उक्त रकम ‘काठमाडौं भ्याली वाटर सेक्टर रिफर्म प्रोग्राम’ अन्तर्गत खर्च गरिनेछ ।

लामो समयदेखि स्वच्छ र भरपर्दो खानेपानी सेवाको चुनौती झेल्दै आएको काठमाडौं उपत्यकाको खानेपानी तथा ढल निकास प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

परियोजनाले खानेपानी क्षेत्रको कमजोर संस्थागत क्षमता, व्यावसायिक कार्यसम्पादनको अभाव, फोहोर पानी प्रशोधन सुविधाको कमी तथा एकीकृत योजना र विकासको अभावजस्ता समस्या समाधान गर्ने लक्ष्य राखेको छ । यसका साथै खानेपानीसँग सम्बन्धित निकाय तथा सरोकारवालाको क्षमता अभिवृद्धि गर्दै नागरिककेन्द्रित जल वितरण प्रणालीलाई सुदृढ बनाइनेछ ।

एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर अर्नोड काउचोइसले खानेपानी सेवामा आबद्ध संस्थाहरूको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधारमा लगानी गरिने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*