बीमा समितिका नव नियुक्त अध्यक्ष सिलवालद्वारा पदभार ग्रहण, समन्यायिक रुपमा बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन

२३ माघ २०७७, शुक्रबार २१:४३

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले आज पदभार ग्रहण गरेका छन् । कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पुगेर नवनियुक्त अध्यक्ष सिलवालले पदभार ग्रहण गरेका हुन् । बिहिवार अर्थमन्त्रालयमा पत्र बुझेपछि शपथग्रहण गरेका अध्यक्ष सिलवालले आज पदभार ग्रहण गरेका हुन् ।

बीमा समितिमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई मुनाफामात्रै नहेर्न र समन्यायिक रुपमा बीमा व्यवसाय गर्न निर्देशन दिएका छन् । उनले कम्पनीहरुले मुनाफा मात्रै नहेरेर बीमितको हित समेत हेर्नुपर्ने, देशको अर्थतन्त्रमा बीमा कम्पनीहरुको योगदान हुनुपर्ने धारणा व्यक्त गरेका छन् । बीमा समितिले नवनियुक्त अध्यक्षको स्वागतमा आयोजित कार्यक्रममा भने, ‘व्यवसायमा लगानी गरेपछि मुनाफा कमाउनै पर्छ, कमाउनुस्, तर जेन्युअन हुनुपर्यो । मैले यति पैसा राख्दा यति हुन्छ भन्ने कुरा जेन्युअन हुनुपर्यो । तपाईहरु समन्यायको सिद्धान्तमा जानुपर्यो । जस्टिस् हुनुपर्यो ।’ सिलवालले बीमा कम्पनीहरुले लिँदै आएको बीमा शुल्कको सम्बन्धमा न्यायिक हुनुपर्ने आशय व्यक्त गरेका छन् ।

अध्यक्ष सिलवालले सामूहिक रुपमा साझा समस्या लिएर आएमा हल गर्न बीमा समिति सदैव तयार रहेको बताए । उनले बीमा समिति निमनकारी निकायको रुपमा भन्दा पनि सहजकर्ताको भूमिका खेल्न चाहेको बताए । अध्यक्ष सिलवालले गलत गर्ने प्रयास भए नियमनकारी निकायले दण्डा चलाउने चेतावनी समेत दिए ।

अध्यक्ष सिलवालले बीमा व्यवसायको विस्तारको लागि निजि क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले भने, बीमा क्षेत्रमा ठूलो अवसर छ, हामीले निर्देशन दिनुर्पे कि तपाईहरुले सुझाव ल्याउने नै हो । म चाहन्छु– तपाईहरु नै सामूहिक रुपमा मिलेर सुझाव ल्याउनुस्, अर्थतन्त्रमा टेवा पुग्ने र बीमितलाई फाइदा पुग्ने काम गर्न बीमा समिति सदैव तयार छ ।’

अध्यक्ष सिलवालले बीमा क्षेत्र आफ्ना लागि नयाँ सुधारहरु केही गरेरै छोड्ने प्रतिबद्धताका साथ नियुक्त भएर आएको बताउँदै बीमा कम्पनीहरुसँग मिलेर अघि बढ्न तयार रहेको बताए । उनले आफू सामूहिक प्रयासमा विश्वास गर्ने बताउँदै एक्लाएक्लै समस्या लिएर नआउन समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रका समस्याहरु हल गर्न एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । उनले बीमाको दायरा फराकिलो पार्ने काममा बीमा समिति अझै प्रतिबद्ध रहेको बताउँदै बीमा समितिले सहजकर्ताको भूमिकामा रहेर अघि बढ्ने बताए । कार्यकारी निर्देशक पौडेलले लघुबीमा, कृषि बीमामा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै नवनियुक्त अध्यक्षलाई सफलताको शुभकामना व्यक्त गरे ।

जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बीमा क्षेत्रमा राम्रो र नराम्रो दुवै रहेको भन्दै बीमा क्षेत्रमा रहेको अवसरलाई उपयोग गर्दै देशको अर्थतन्त्रमा लाभ पुर्याउने काम गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले नेपाली बीमा क्षेत्र दौडने अवस्थामा जान लागेकोले सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले नव नियुक्त अध्यक्ष सिलवालको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बीमा समिति कर्मचारी युनियनकी अध्यक्ष रञ्जिता केसीले बीमा क्षेत्रमा सुशासन जरुरी भएको धारणा व्यक्त गर्दै अध्यक्ष सिलवालको राम्रा प्रयासहरुलाई सफल पार्न जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताईन् । उनले बीमा समितिका कर्मचारीदेखि बीमा कम्पनीहरु सबैमा सुशासन कायम गर्न नवनियुक्त अध्यक्ष सफल हुने विश्वास व्यक्त गरिन् । त्यस्तै, बीमा समिति कर्मचारी संगठनका अध्यक्ष पदम प्रसाद सोडारीले नवनयिुक्त अध्यक्षलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मीले नव नियुक्त अध्यक्ष सिलवाललाई स्वागत गरेका थिए भने सर्भेयर एशोसिएशनका अध्यक्ष सूर्य प्रसाद जोशी र पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले पनि नवनियुक्त अध्यक्षलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*