साना किसान विकास लघुवित्तको नाफा २० प्रतिशतले घट्योः बढ्यो खराब कर्जा, अधिकांश सूचक ओरालो

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घटेको छ । संस्थाले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १८ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २२ करोड ८४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको नाफा १९.६५ प्रतिशतले घटेको हो ।
संस्थाको नाफामा आएको गिरावटसँगै प्रमुख आम्दानीका सूचकमा समेत संकुचन देखिएको छ । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २७ करोड २५ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३४ करोड १७ लाख १३ हजार रुपैयाँ थियो । यसरी खुद ब्याज आम्दानी २०।२१ प्रतिशतले घटेको छ । संस्थाको ब्याज आम्दानी पनि गत वर्षको ५६ करोड ५६ लाख ८४ हजार रुपैयाँबाट घटेर ४८ करोड २७ लाख ७८ हजार रुपैयाँमा झरेको छ ।
खुद ब्याज आम्दानी घटेसँगै संस्थाको कुल सञ्चालन आम्दानीमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख ८२ हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा २७ करोड २५ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा पनि ३२ करोड ६४ लाख २६ हजार रुपैयाँबाट घटेर २६ करोड ९८ लाख २४ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाको खराब कर्जामा भने सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ३.१९ प्रतिशत पुगेको छ ।
नाफा घटेसँगै संस्थाको प्रतिसेयर आम्दानीमा समेत गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१.१९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १४.९१ रुपैयाँ कायम भएको छ । संस्थाको चुक्ता पुँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित कोषमा ४ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।











