बीमा कम्पनीमा दोहोरो लगानी हटाउने अभियानमा बीमा समिति, अध्ययन सुरु

१७ फाल्गुन २०७७, सोमबार १५:२२

काठमाडौं । बीमा कम्पनीहरुमा एउटै व्यक्ति वा समुहले एकभन्दा बढि बीमा कम्पनीमा लगानी गर्ने प्रथालाई निरुत्साहित गर्न बीमा समिति जुटेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सो सम्बन्धमा अध्ययन भइरहेको बताउँदै आवश्यक निर्णय लिइने जनाएका छन् ।

बीमा कम्पनीहरुमा रहेको क्रस होल्डिङ (एउटै व्यक्ति वा समुहले एक भन्दा बढि बीमा कम्पनीमा लगानी) बारे बीमा समितिले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उच्च अधिकारीहरुले जनाएका छन् । बीमा समितिले सो सम्बन्धमा गुनासो आएको समेत जनाउँदै सो सम्बन्धमा अध्ययन पश्चात ठोस निर्णय गर्ने तयारी भइरहेको छ । क्रस होल्डिङ्स हुँदा आर्थिक क्षेत्रमा कन्फ्लीक्ट अफ इन्ट्रेष्ट (स्वार्थ बाझिने अवस्था) उत्पन्न भई सिंगो क्षेत्रलाई अप्ठेरो पार्ने सैद्धान्तिक निष्कर्ष छ । बीमा समितिले सोही सैद्धान्तिक धरातलमा टेकेर क्रस होल्डिङ्सलाई निषेध गर्ने गरी काम अघि बढाइएको जनाएको छ ।

क्रस होल्डिङ्सका कारण विगतमा कतिपय बीमा कम्पनीहरुले अप्ठेरो अवस्थाको सामना गर्नु परेको थियो । सरकारले बैंकमा क्रस होल्डिङ निषेध गरिसकेको छ । अब बीमा क्षेत्रमा पनि क्रस होल्डिङ्स निषेध गर्ने योजनामा काम भइरहेको बीमा समिति स्रोतले जनाएको छ । त्यसको लागि प्रारम्भिक चरणको अध्ययन भइरहेको बीमा समितिले जनाएको छ । अध्ययन पश्चात ठोस कदम चालिनेछ । क्रस होल्डिङ् भएका कम्पनीका लगानीकर्ताहरुलाई दुई वा सो भन्दा बढि बीमा कम्पनी मध्ये एक रोज्ने अवसर दिइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*