एनआईसी एशिया क्यापिटलको ५५ प्रतिशत लाभांश पारित

८ भाद्र २०७९, बुधबार १५:१९

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्यापिटलले सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८।०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यका भित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ ।

साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ । क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*