लकडाउनका बीच रिलायन्स लाइफको बीमा व्यवसायमा उल्लेख्य प्रगति, सवा दुई अर्बको जीवन बीमा कोष, मुनाफा २५ प्रतिशतले बृद्धि

२० बैशाख २०७८, सोमबार १६:१७

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सो कम्पनीले लकडाउनकै बीचमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको देखिएको छ । नयाँ कम्पनीको रुपमा चार वर्षअघि मात्रै व्यवसाय सुरु गरेको कम्पनीले केही महिना पहिले मात्रै आईपिओ जारी गरी बीमा समितिले तोकेको चुक्ता पुँजि पूरा गर्न सफल भएको थियो ।

कम्पनीको जीवन बीमा कोष १६०.३३ प्रतिशतले बृद्धि भई दुई अर्ब २६ करोड ४४ लाख ७९ हजार रुपैयाँ पुर्याएको । अघिल्लो आवको समीक्षा अवधीमा ८६ करोड ९८ लाख ६० लाख रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको कम्पनीको गत चैत्र मसान्तसम्ममा महाविपत्ति कोष, जगेडा कोषसहित कूल दुई अर्ब ४९ करोड ३० लाख ५० हजार रुपैयाँको कोष खडा गर्न सफल भएको छ । कम्पनीको समग्र कोषको अवस्था १४० प्रतिशतले बृद्धि भएको देखिएको छ ।

कम्पनीको खुद बीमा शुल्क १३१.४३ प्रतिशतले बृद्धि भई चालु आवको नौ महिनामा एक अर्ब ८४ करोड ४७ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आवको नौ महिनामा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । चालु आवको नौ महिनामा मध्ये झण्डै चार महिना लकडाउनमा फसेको थियो ।

समीक्षा अवधीमा कम्पनीको खुद नाफा ७.२९ प्रतिशतले बढेको देखिएको छ । गत आवमा छ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवमा छ करोड ५८ लाख ६६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यद्यपि जीवन बमिा कम्पनीहरुको मुनाफा लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ ।

कम्पनीले कूल बीमा शुल्क आर्जन १२८.४७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष जम्मा ८३ करोड ३३ लाख ९४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा चालु आवको नौ महिनामा एक अर्ब ९० करोड ४० लाख २९ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै कूल दावी भुक्तानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत आवमा जम्मा एक करोड ६७ लाख ९० हजार रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा २३ करोड ६४ लाख ८८ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । सो तथ्याङ्कले कम्पनीका धेरै पोलिसीहरु सरेण्डर भएको हुनसक्ने आशंका गरिएको छ ।

त्यस्तै कम्पनीको व्यवस्थापन खर्च ३२.४८ प्रतिशतले बढेको छ । गत आवमा २६ करोड १३ लाख ३१ हजार १६ हजार रुपैयाँ कूल व्यवस्थापन खर्च गरेको कम्पनीले चालु यस अवधीमा ३४ करोड ६१ लाख ९८ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । कम्पनीले आर्जन गरेको खुद बीमा शुल्कको आधारमा व्यवस्थापन खर्च बृद्धि सामान्य देखिएको छ । कम्पनीको अभिकर्ता कमिशन ९० प्रतिशतले बृद्धि भएको वित्तीय विवरणबाट झल्किएको छ । अघिल्लो आवमा जम्मा १५ करोड ९० लाख ६७ हजार रुपैयाँ अभिकर्तालाई कमिशनबापत विवतरण गरेको कम्पनीले चालु आवको नौ महिनामा ३० करोड २४ लाख ७४ हजार रुपैयाँ अभिकर्तालाई वितरण गरेको छ । यद्यपि कम्पनीले आर्जन गरेको जीवन बीमा शुल्कको आधारमा अभिकर्ता कमिशन बृद्धि न्यून देखिएको छ ।

कम्पनीको बक्यौता दावी भुक्तानी जम्मा सात लाख ८१ हजार रुपैयाँ मात्रै बाँकी छ भने अब जम्मा ११ वटा मात्रै दावी भुक्तानी बाँकी देखिन्छ । यस अवधीमा कम्पनीले १४२ वटा दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*