नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा, खर्बमाथिको जीवन बीमा कोष, लगातार सबैभन्दा ठूलो

२१ बैशाख २०७८, मंगलवार ११:५३

काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै सरल जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

२१ औं बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अध्यक्ष गोबिन्दलाल संघाईले आगामी दिनमा अझै सरल बीमा सेवा प्रवाह गर्दै उत्कृष्ट कम्पनीको रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष संघाईले कोरोना महामारीका बीचमा पनि सर्वसाधारणलाई सेवा प्रवाहमा कुनै कसर बाँकी नराखेको जनाउँदै आगामी दिनमा कठिन परिस्थितिमा समेत बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष संघाईले २१ औं बार्षिकोत्सवको अवसरमा सम्पूर्ण कर्मचारी, शेयरलगानीकर्ता तथा आम बीमितलाई बधाई ज्ञापन गरेका छन् ।

नेपाली जीवन बीमा व्यवसायको सात दशकभन्दा बढि बीमा इतिहासमा विगत केही वर्षदेखि नेपाली बीमा बजारको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रवाह गरिरहेको । सो कम्पनीको जीवन बीमा कोषको आकार कोषमा मात्रै झण्डै एक खर्ब नाघिसकेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमै एक खर्ब रुपैयाँको जीवन बीमा कोष बनाउन सफल भएको हो ।

स्थापनाको २० वर्षमा कम्पनीले गरेको ऐतिहासिक उपलब्धीको रुपमा जीवन बीमा कोषलाई लिन सकिन्छ । जुन देशको बजेटको झण्डै ९ प्रतिशत हुन आउँछ । भारतमा झण्डै एक सय वर्ष इतिहास बोकेको जीवन बीमा कम्पनी एलआईसी इण्डियाको देशको बजेटभन्दा ठूलो जीवन बीमा कोष छ । नेपालमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यसैगरी जीवन बीमा व्यवसाय बृद्धि गर्दै अघि बढेको अवस्थामा आगामी १० वर्षभित्रैमा देशको बजेट हाराहारीको जीवन बीमा कोष बनाउन सक्ने देखिएको छ । कम्पनीले विगत एक वर्षमा मात्रै २३ अर्बभन्दा बढि जीवन बीमा कोष बृद्धि गर्न सफल भएको छ ।

हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओको रुपमा सन्तोष प्रसाई कार्यरत छन् । कोरोना महामारीका कारण यस वर्ष कम्पनीले औपचारिक कार्यक्रम नगर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*