दशैंअघि शेयर कारोबारको अन्तिम दिन १६ अंकले बढ्यो नेप्से, १२ उपसूचकमा छायो हरियाली
१३ आश्विन २०७९, बिहीबार १५:१७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात् दशैं विदाको कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावनाले दुई–तिन दिनयता शेयरबजारमा सुधार देखिएको छ ।
आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख ७ हजार रुपैयाँको मात्रै कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज लाइफ इन्स्योरेन्स सूचक बाहेक सबै सूचकमा हरियाली छाएको छ । आज जीवन बीमा सूचक ०.०६ प्रतिशत अर्थात् ५ रुपैयाँ ६१ पैसाले घटेको छ भने सर्वाधिक माइक्रोफाइनान्स सूचकको १.६५ प्रीतशत अर्थात् ६८ रुपैयाँ १३ पैसाले बढेको छ ।












