सिटिजन्स बैंकको लाभांश पाउन कहिलेसम्म शेयरधनी बन्ने ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुुरक्षित गर्ने असोज २७ गते बिहिबार अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट ९ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएसँगै असोज २७ गते बिहिबारसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
सोही प्रस्तावित लाभांश पारितका लागि बैंकले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ४ गते अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम ९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ । बैंकले तिहारअघि नै शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।
साथै उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबिक पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको ५१.०७ः४८.९३ बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने जस्ता प्रस्तावहरु पारित गर्नेछ ।
यसका अलावा आव २०७८।७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।












