पहिलो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा झण्डै ३३ करोड, वितरणयोग्य नाफा मात्रै २५ करोडमाथि

२० कार्तिक २०७९, आईतवार १०:१९

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५३.७१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३८.६२ प्रतिशत बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ भने लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २२ लाख रुपैयाँबाट घटेर २ करोड ४९ लाख रुपैयाँमा झरेसँगै सञ्चालन मुनाफा ५२.७४ प्रतिशत बढेर ४६ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै लघुवित्तले यस अवधिसम्म वितरणयोग्य मुनाफा २५ करोड ६७ लाख ४ हजार रुपैयाँ छुट्याएको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ८४ पैसा बढेर ५६ रुपैयाँमा ६४ पैसा पुगेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा जगेडा कोष १०.४४ प्रतिशत बढेर कोषमा ३ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ संचित रहेको छ । । त्यसैगरी, लघुवित्तको निक्षेप तथा सापटी ४.७८ प्रतिशत बढेर ३३ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २.१५ प्रतिशत बढर ३३ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*