कुमारी बैंकको साधारण सभा आज, १२ प्रतिशत लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा आज (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छ । साथै उक्त सभामा आर्थिक वर्ष २०७८।२०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।२०८० को लागि लेखापरीक्षक नियुत्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, बैंकले आर्थिक वर्ष २०७८। २०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जरमा जाने तथा प्राप्ति गर्न सञ्चालक समतिबाट गठित मर्जर समिति गठन गर्ने समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।
यसबाहेक भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नु पर्ने भएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १४ गते एक दिन बुकक्लोज गरेको थियो । यसर्थ कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन तथा बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।












