यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको नाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघुवित्तको खुद नाफा ६८.१८ प्रतिशत घटेर ६ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.९० प्रतिशत घटेर २९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ६८.१७ प्रतिशत घटेर ९ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३१ रुपैयाँ ३ पैसा घटेर १५ रुपैयाँ १३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ५४.६८ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १.८२ प्रतिशत घटेको छ भने कर्जा ०.६१ प्रतिशत बढेको छ ।












