ग्रामिण विकास लघुवित्तको अधिकांश सूचक ऋणात्मक

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १८ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा लघुवित्तको नाफा घट्न पुगेको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
समिक्षा अवधिसम्म खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेसँगै सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्याएका कारण लघुवित्तले नोक्सानी व्यहोरेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.२३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४८.७८ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३०.७६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ ऋणात्मक रहेको छ । लघुवित्तले सम्भावित जोखिमबापत १ अर्ब ३४ करोड रुपैयाँ व्यवस्था गरेको छ । जसकारण सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ४९ पैसाबाट घटेर ४ रुपैयाँ ८२ पैसा ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ७ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप १.५८ प्रतिशत, सापटी ९.११ प्रतिशत र कर्जा २.५६ प्रतिशत घटेको छ।












