२१ वर्षदेखि बीमितको विश्वास जित्दै शिखर इन्स्योरेन्स, आजदेखि २२औं वर्षमा

२ मंसिर २०८३, बुधबार ११:१४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २१ वर्ष पूरा गरेको छ । सन् २००४ मा नेपालको १४औँ निर्जीवन बीमा कम्पनीका रूपमा स्थापना भएको शिखर इन्स्योरेन्स आजदेखि २२औँ वर्षमा प्रवेश गरेको हो । दुई दशकभन्दा लामो यात्रामा कम्पनीले व्यवसाय विस्तारसँगै बीमितको विश्वास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ ।

स्थापनाका बेला एक करोड रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको चुक्ता पुँजी अहिले तीन अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो नेपालका निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी रहेको कम्पनीले जनाएको छ । त्यस्तै सुरुवाती समयमा १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । वार्षिक बीमाशुल्क संकलन एक अर्बबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्‍याउने शिखर नेपालकै पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ । निर्जीवन बीमा बजारमा कम्पनीको हिस्सा १३ प्रतिशतभन्दा बढी छ ।

बीमा कम्पनीको सफलता व्यवसाय विस्तार र बीमाशुल्क संकलनले मात्रै नभई बीमितलाई परेको आर्थिक क्षतिमा कम्पनीले गरेको सहयोगले पनि त्यसको विश्वसनीयता निर्धारण गर्छ । यस पक्षमा पनि शिखर इन्स्योरेन्सले उल्लेख्य काम गरेको छ । स्थापनादेखि हालसम्म कम्पनीले दुई लाखभन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ । यस क्रममा बीमितलाई ३० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पदेखि जेनजी आन्दोलनका क्रममा भएका क्षति तथा गत भदौ १० गतेको भोटेकोशी बाढीलगायत विभिन्न विपद्का घटनामा समेत कम्पनीले बीमितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै कम्पनीले चार अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ ।

आर्थिक रूपमा सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न कम्पनीले पुनर्बीमाको व्यवस्थालाई पनि बलियो बनाएको छ । कम्पनीसँग पुनर्बीमा गर्ने सबै विदेशी पुनर्बीमा कम्पनीको रेटिङ ’ए’ वा सोभन्दा माथि रहेको छ । साथै विपद्का कारण हुन सक्ने ठूलो क्षतिबाट सुरक्षित रहन कम्पनीले बीमा क्षेत्रकै बलियो पुनर्बीमा सुरक्षा व्यवस्था कायम गरेको जनाएको छ । इक्रा नेपालबाट ‘एए माइनस’ इश्युअर रेटिङ प्राप्त गरेको कम्पनीको यो रेटिङ नेपालका बीमा कम्पनीहरूमध्ये उच्च रेटिङमा पर्दछ ।

ग्राहकलाई सहज र छिटो सेवा दिने उद्देश्यले कम्पनीले प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिएको छ । ’डिजिटल शिखर’मार्फत ग्राहकले अनलाइनबाटै बीमालेख खरिद तथा नवीकरण गर्न, बीमाशुल्क भुक्तानी गर्न र दाबी प्रक्रियासम्बन्धी काम गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समस्यामा सहयोग पुर्‍याउन कम्पनीले २४ सै घण्टा सञ्चालन हुने कल सेन्टरसमेत उपलब्ध गराएको छ । सूचना तथा ग्राहकको विवरण सुरक्षित राख्ने व्यवस्थाका लागि कम्पनीले आईएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यो प्रमाणपत्र प्राप्त गर्ने नेपालकै एकमात्र निर्जीवन बीमा कम्पनी शिखर रहेको कम्पनीले जनाएको छ ।

देशभर बीमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले आफ्नो शाखा सञ्जाल पनि फराकिलो बनाएको छ । हाल कम्पनीले सातै प्रदेशका ७१ जिल्लामा रहेका १२९ कार्यालयमार्फत तीन लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । कम्पनीमा ६८१ कर्मचारी कार्यरत छन् जसमध्ये करिब ४० प्रतिशत महिला छन् ।

कम्पनीले सम्पत्ति, मोटर, सामुद्रिक, इन्जिनियरिङ, हवाई तथा कृषि बीमालगायत विभिन्न क्षेत्र समेट्ने ७८ प्रकारका बीमा योजना सञ्चालन गर्दै आएको छ । यी योजनामार्फत व्यक्ति, व्यवसाय, उद्योग तथा समुदायका विभिन्न जोखिमबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउँदै आएको कम्पनीको भनाइ छ ।

त्यस्तै कम्पनीको लगानी पोर्टफोलियो पाँच अर्ब १० करोड रुपैयाँ पुगेको छ । उक्त लगानी पर्यटन, कृषि तथा जलविद्युत्लगायत देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने क्षेत्रमा रहेको कम्पनीले जनाएको छ । राष्ट्रिय राजस्वमा पुर्‍याएको योगदानका लागि आन्तरिक राजस्व विभागबाट समेत कम्पनी सम्मानित भएको छ ।

२२औँ वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्नो सफलताको श्रेय बीमित, सेयरधनी, कर्मचारी, अभिकर्ता, व्यावसायिक साझेदार तथा अन्य सरोकारवालाको निरन्तर साथ र विश्वासलाई दिएको छ । आगामी दिनमा प्रविधिको विकाससँगै सेवा विस्तार गर्ने, बीमाको पहुँच बढाउने, दाबी भुक्तानी प्रक्रियालाई थप प्रभावकारी बनाउने र ग्राहकलाई केन्द्रमा राखेर सेवा प्रदान गर्ने कम्पनीको योजना छ ।

दुई दशकभन्दा लामो यात्रामा व्यवसाय विस्तार, दाबी भुक्तानी र देशव्यापी सेवा सञ्जाल निर्माणलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको शिखर इन्स्योरेन्सले आगामी दिनमा पनि आम नागरिक तथा व्यवसायको आर्थिक जोखिम न्यूनीकरणमा थप प्रभावकारी भूमिका खेल्दै बीमित र लगानीकर्तालाई अझै उच्च प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*