दोस्रो बजार रोकिएका मर्जरको प्रकृयामा रहेका यी कम्पनीको शेयर कारोबार खुल्दै (सूची सहित)

काठमाडौं । दोस्रो बजारमा लामो समयदेखि रोकिरहेको कम्पनीहरुको कारोबार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका लागु भएसँगै लामो समदेखि दोस्रो बजारमा रोकिरहेको शेयर कारोबार पुनः सुचारु हुनेछ । बोर्डको आजेदेखि लागू भएको निर्देशिकाले अब मर्जरमा जाने कम्पनीको मात्र नभई यस अघि मर्जर तथा प्राप्ति प्रकृयामा रहेका कम्पनीको आधारभुत बाहेकका सेयरधनीको कारोबार फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो ।
योसँगै हाल मर्जरमा रहेका बैंक, बीमा तथा अरु कम्पनीहरुले आधारभूत बाहेकका सबै सेयरधनीको कारोबार सुचारु गराउनु पर्ने भएको हो ।निर्देशिकामा दफा १३ गरिएको सेयर कारोबार फुकुवासम्बन्धी विशेष व्यवस्थामा यो प्रावधान राखिएको हो।
यो व्यवस्था आईतबारदेखि लागु हुनेछ । यो व्यवस्था लागुहुने भएसँगै १४ बीमा कम्पनीहरुमा अजोड, प्रभु, गुराँस लाइफ, युनियन लाइफ, प्राइम लाइफ, लुम्बिनी जनरल, सगरमाथा, प्रभु लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, सूर्या लाइफ, ज्योती लाइफ, सिद्दार्थ र प्रिमियर इन्स्योरेन्स रहेका छन् । ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, सिभिल, एनसीसी, कुमारी, नेपाल इन्भेष्टमेण्ट, मेगा र सेञ्चुरी कमर्शियल बैंकको फुकुवा हुनेछ ।
त्यस्तै, सात लघुवित्त कम्पनीहरुमा सिवाईसी नेपाल, आँधीखोला, आदर्श, नेशनल, समीट, साना किसान र आरएमडिसी लघुवित्त रहेका छन् । विशेष व्यवस्थामा उल्लेख भएअनुसार यो निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा हुने व्यवस्था गरएको छ।
आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ। निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ।
निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर भने मर्जर सम्झौता गरेको भोलिपल्टबाट नै रोक्का राख्नुपर्नेछ। त्यस्तै निर्देशिकाले बढीमा ६ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ।अब सूचीकृत कम्पनीहरु मर्जरमा जाँदा बढीमा १५ दिनमात्र सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था निर्देशिकामा गरिएको छ।













