फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको यस्तो छ पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्न पुगेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा लघुवित्तले ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.८० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.२० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा १८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ । यसकारण लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक रहेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ३९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७८.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३५ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.३५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको निक्षेप १७.२४ प्रतिशत बढेको छ भने कर्जा ११.९८ प्रतिशत बढेको छ ।












