लाभांश प्रस्तावसहित बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २३ गते बस्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले सभा मंसिर २३ गते त्रिभुवन आर्मि अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।
कम्पनीको सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापुँजीको ६ प्रतिशतका दरको बोनस शेयर र १४.१५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल २०.१५ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै उक्त सभाले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनमा लागि सम्पत्ती, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) गरी स्वात रेसियो तथा मर्जर सम्बन्धी विषयमा संचालक समितिबाट भएका निर्णयहरु स्वीकृत गर्ने र मर्जरसम्बन्धी सम्पूर्ण आवश्यक प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका अलावा गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७८।७९ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आव २०७९।८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
बैंकको मर्जर प्रयोजनका लागि गत असार २ गतेदेखि बैंकको शेयर कारोबार रोक्का रहेकाले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकको शेयर दाखिला खारेज यहि मंसिर ९ गते एकदिन बन्द रहनेछ । नेप्सेमा मंसिर ८ गतेसम्म कारोबार भई नियमअनुसार दाखिल खारेजको लागि बैंकको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट नक्साल काठमाडौंमा प्राप्त विवरणको आधारमा कायम भएको शेयर लगत अभिलेख नै साधारण सभा तथा लाभांशको लागि कायम हुनेछ ।












