शिवम् सिमेन्ट डुब्ने अवस्था पुगेपछि अध्यक्ष सुरेन्द्र गोयलले सुटुक्क बिक्री गरे डेढ अर्बको शेयर

५ पुष २०७९, मंगलवार ०७:२६

काठमाडौं । हेटौडा उपमहानगरपालिकाको मध्य भागमा रहेको शिभम् सिमेन्ट विस्तारै हिमाल सिमेन्ट हुने भेऊ पाएपछि अध्यक्ष सुरेन्द्र कुमार गोयलले रातारात सेटिङ गरेर २७ लाख ४३ हजार ९०० कित्ता शेयर अन्यत्र नै बिक्री गरेका छन् । हेटौडाको मध्य शहरमा रहेको उद्योगमाथि स्थानीयबासीको प्रदुषणको कारण अन्यत्र स्थानान्तरण गर्न दवाव, सुकौरा–कोलखोपमा रहेको खानीमाथि चौतर्फी चासो र स्थानीय राजनीतिक दलहरुको चर्को दोहनका कारण अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ ।

आर्थिक संकटका कारण पछिल्लो एक वर्षमा कम्पनीले खासै उत्पादन समेत गर्न सकेको छैन । शिवम् सिमेन्टले सुकौरास्थित खानीबाट खासै ढुंगा ल्याएको छैन भने गत वर्षकै ढुंगा समेत उत्पादनको लागि प्रयोग भएको छैन । पछिल्लो समय भुक्तानी सन्तुलनमै समस्या भोग्ने अवस्थामा पुगेको शिवम् सिमेन्टका अध्यक्षले नै रातारात आफ्नो शेयर अन्यत्र नै बिक्री गरेपछि कम्पनीको अवस्था दयनीय हुँदै गएको पुष्टि भएको छ । गत कार्तिक १९ गतेदेखि मंसिर २० गतेसम्म डेढ अर्बभन्दा बढि मूल्यको २७ लाख ४३ हजार ९०० कित्ता शेयर बिक्री गरिसकेका छन् ।

धितोपत्र कानुन अनुसार कुनैपनि पब्लिक कम्पनीको अध्यक्षले आफू अध्यक्षमा रहँदासम्म र छोडेको एक वर्षसम्म आफ्नो नाममा रहेको शेयर बिक्री गर्न नपाउने व्यवस्था छ । सो व्यवस्था विपरित, कानुनी सजाय झेलेरै भएपनि उनले ठूलो मात्रामा शेयर बिक्री गरिसकेका छन् । शिवम् सिमेन्टमा अध्यक्ष गोयलको नाममा ४६ लाख ४६ हजार ४०० कित्ता शेयर थियो । अब १९ लाख दुई हजार ५०० कित्ता शेयर मात्रै बाँकी छ । सर्वसाधारण लगानीकर्ताको हित विपरितको काम गरी कम्पनीलाई अप्ठेरो अवस्थामा पुर्याएका अध्यक्ष गोयलले रातारात शेयर बिक्री गर्दा समेत नियामक निकाय नेपाल धितोपत्र बोर्डले कारवाहीमा खासै चासो देखाएको छैन ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोयलले अंशबण्डा गरेको भन्दै आफ्नै भाई विश्वनाथ गोयल र छोरी अनिता गोयलको नाममा शेयर नामसारी गरी त्यहाँबाट पनि बिक्री गरिसकेका छन् । सो विषयमा सेबोनले छानविन प्रक्रिया अघि बढाए पनि कारवाही भने गरिसकेको छैन । गोयलले सोे शेयर बिक्री गरेर केही रकम लघुबीमा कम्पनीमा शेयर हालेको आशंका गरिएको छ । लगानीकर्ताहरुले भने तत्कालै एक्सन लिन बोर्डलाई दवाव दिइरहेका छन् । अध्यक्ष पदमा बहाल रहेकै बखत बहुमत शेयर बिक्री गरी थोरै मात्रै बाँकी राखेकोले अध्यक्ष गोयलले अब शिवम् सिमेन्टबाट राजिनामा दिने तयारी समेत भइरहेको जनाइएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नं १७ स्थित हटियामा रहेको शिवम्् सिमेन्टका कारण सिंगो हटौडा बजारदेखि हर्नामाडीसम्म प्रदुषण फैलिएका कारण स्थानीयबासीले चर्को विरोध गर्दै आएका छन् । विरोध गर्ने वरपरका केही घरहरुलाई मासिक सुविधा नै दिएर चुप लगाउँदै आएको उद्योगले अब लामो समय यसरी टिक्न नसक्ने विश्लेषण अध्यक्ष गोयलले गर्दै आएका थिए ।

आईपिओ जारी गर्दा वास्तविक सम्पत्ति भन्दा बढि देखाइएको कारण पनि शिवम् सिमेन्टमा समस्या पर्ने भएकोले अध्यक्ष गोयल उक्त उद्योगबाट फुत्किन खोजेको देखिएको छ । जम्मा एक अर्ब लगानी गरिएको सम्पत्तिकोृ तीन अर्बभन्दा बढि देखाइएको थियो ।

हेटौडामा शिवम् सिमेन्टको उद्योग हटाएर विमानस्थल बनाउनुपर्ने आवाज चर्को रुपमा उठिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*