काठमाडौं–तराई फास्ट ट्र्याकको सबैभन्दा लामो सुरुङमा ब्रेकथ्रु, भौतिक प्रगति ५१ प्रतिशत

२ मंसिर २०८३, बुधबार १२:१५

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको बुधबार ब्रेकथ्रु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सुरुङको अन्तिम भाग जोडिएको औपचारिक घोषणा गरेका हुन् । यो द्रुतमार्गमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये सबैभन्दा लामो सुरुङ हो । यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो ।

नेपाली सेनाका अनुसार आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ भने पुल तथा अन्य पूर्वाधार निर्माणले पनि गति लिएको छ । सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् ।

यद्यपि ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको जग्गा अधिग्रहण विवाद अझै समाधान हुन सकेको छैन । विवाद टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाउने सेनाको तयारी छ । करिब ७३ किलोमिटर लामो द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको यात्रा दूरी तथा समय घट्ने अपेक्षा छ ।

राष्ट्रपति पौडेलले प्रतिकूल भौगोलिक अवस्था र जटिलताबीच नेपाली सेनाले गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्न सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

तस्बीर सौजन्यः नेपाल फोटो लाइब्रेरी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*