उतारचढावकाबीच १४ अंकले बढ्यो शेयरबजार, लगानीकर्तामा देखिएन उत्साह

काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज १४ अंकको सुधार देखिएको छ । पुष महिना लागेसँगै बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव सिर्जना हुन थालेसँगै शेयरबजारमा उतारचढाव देखिन थालेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा पुष महिना तरलता अभाव हुन सक्ने महिना भनेसँगै पनि शेयरबजार प्रभावित बन्न पुगेको हो । पुष ३ गते उच्च अंकको गिरावट देखिएको शेयरबजार त्यसयता सामान्य अंकले सुधार देखिन पुगेको छ ।
शेयरबजारमा झिनो अंकको सुधार देखिएपनि कारोबार रकम भने घट्न पुगेको छ । आम लगानीकर्ताहरुमा शेयरबजारप्रति उत्साह र रौनकता नदेखिँदा पछिल्लो केही महिनायता कारोबार माथि उक्लिन सकेको छैन । आज नेप्से सूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।












