सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

७ पुष २०७९, बिहीबार ११:३२

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (पुष ७ गते) बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

सो आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*