लामो समयपछि निर्धन उत्थान लघुवित्तको शेयरमूल्य हजारमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लामो समयपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । पछिल्लो केही दिनयता शेयरबजारमा रौनकता छाउन थालेसँगै संस्थाको शेयरमूल्य एकाएक बढ्न पुगेको हो ।
विष्णु पौडेल अर्थमन्त्री बनेसँगै शेयरबजार बढ्दा आम लगानीकर्ताहरुमा उत्साह थपिएको छ । साथै केही दिनयता त माइक्रोफाइनान्सहरुको शेयरमूल्य उचालिएको छ । लामो समयसम्म ८ सय रुपैयाँमा सीमित रहेको निर्धन उत्थान लघुवित्तको शेयरमूल्य आज ७४ रुपैयाँले बढेर शेयरमूल्य १०१४ रुपैयाँ पुगेको छ ।

लघुवित्त संस्थाहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई भटाभट लाभांश प्रस्ताव गरिरहेका कारण पनि निर्धनको शेयरमूल्य बढ्न पुगेको हो । निर्धनले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रै लाभांश बाँड्दै आइरहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्दा त्यसअनुरुप नै धितोपत्र खरिद माग बढ्न जान्छ यसले कम्पनीको मागअनुसार मुल्य बढ्न जान्छ ।
यसरी नै निर्धन उत्थानले पनि अब गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्न बाँकी छ । संस्थाले गत आवको अन्त्यसम्ममा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो नाफाबाट संस्थाले ८० करोड २० लाख ५९ हजार रुपैयाँ वितरणयोग्य नाफा छुट्याएको थियो । यसआधारमा संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३६.५३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।












