नेपाल राष्ट्र बैंकद्धारा ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

२० पुष २०७९, बुधबार ११:०३

काठमाडौं । थप ६ वटा वाणिज्य बैंकले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नियमक निकाय नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृत दिएका हुन् ।

राष्ट्र बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

त्यस्तै, केन्द्रीय बैंकले पुष १९ गते प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेडलाई पनि मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । केन्द्रीय बैंकले यसअघि नै कुमारी बैंक र एनसीसी बैंकलाई पनि मर्जरको अन्तिम स्वीकृत प्रदान गरी यी दुवै बैंकले कुमारी बैंकको नामबाट यहि पुष १७ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुष ७ गते साधारण सभा गरी मर्जरको प्रस्ताव पारित गरेका थिए । मर्जरमार्फत यी दुवै बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्नेछ । यो नामबाट एकीकृत कारोबार गर्न यी दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरिसकेको छ । मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकले पुष २७ गते एकीकृत कारोबार सुरु गर्ने जनाएको छ ।

साथै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पनि मर्जरको अन्तिम स्वीकृत पाइसकेका छन् । यी दुवै बैंकको मर्जरपछि ‘ग्लोबल आइएमई बैंक’को नामबाट एकीकृत कारोबार सुरु हुनेछ । ग्लोबल आइएमई बैंक र बीओकेले पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने जनाएको छ ।

साथै प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पनि पुष १४ गतेको साधारण सभाबाट मर्जरसम्बन्धित प्रस्ताव पारित गरेको थियो । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएबमोजिम प्रभु बैंक लिमिटेडको नामबाट नै एकीकृत कारोबार सुरु हुनेछ । नेपाल राष्ट्र बैंकले स्वीकृति समेत प्रदान गरिसकेको छ । प्रभु बैंक र सेन्चुरी बैंकले भने एकीकृत कारोबारका लागि पुष २७ गते मिति तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*