छिमेक लघुवित्तको शेयरमूल्य १२ सय रुपैयाँमाथि, शेयरधनीलाई कति देला लाभांश ?

२० पुष २०७९, बुधबार ११:४०

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म १४ वटा लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गरिसकेका छन् ।

यसैबीच छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि लाभांश घोषणाको तयारीमा रहेको छ । लघुवित्त संस्थाहरुमध्ये अर्बमाथिको चुक्तापुँजी रहेको संस्थाले विगतका आर्थिक वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रै लाभांश बाँड्दै आइरहेको छ । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट संस्थाले शेयरधनीहरुलाई कति लाभांश बाँड्ला भन्ने कौतुहलताको विषय बनेको छ ।

संस्थाले आर्थिक वर्ष २०७१।७२ र २०७२।७३ मा आफ्ना शेयरधनीहरुलाई ५२.७० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै अघिल्लो आव २०७७।७८ मा संस्थाले २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यसै आधारमा संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट पनि शेयरधनीहरुलाई राम्रै लाभांश बाँड्ने देखिएको छ ।

संस्थाले गत आवको अन्त्यसम्ममा १ अर्ब ३ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । सोही नाफाबाट संस्थाले ७६ करोड ४३ लाख ११ हजार रुपैयाँ वितरणयोग्य नाफा छुट्याएको थियो । सोही आधारमा संस्थाले गत आवको मुनाफाबाट यसवर्ष शेयरधनीहरुलाई ३२.८८ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । अब छिट्टै लघुवित्तको संचालक समितिको बैठक बसी लाभांश घोषणा गर्नेछ ।

नेप्सेमा सूचीकृत रहेको यस संस्थाको शेयरमूल्य पनि बढ्न थालेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य २.०९ प्रतिशत अर्थात २५ रुपैयाँले बढेर शेयरमूल्य १२२० रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*