हालसम्म १४ लघुवित्तद्धारा लाभांश प्रस्ताव, अर्बमाथि चुक्तापुँजी रहेको डिप्रोक्स लघुवित्तले कति देला लाभांश ?

काठमाडौं । हालसम्म १४ लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । अधिकांश लघुवित्तले साधारण सभा तथा बुकक्लोजको मिति समेत तोकिसकेका छन् ।
नेप्सेमा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये आधा भन्दा बढी लघुवित्त संस्थाको लाभांश घोषणा हुनै बाँकी छ । हालसम्म लाभांश घोषणा गर्ने संस्थाहरुमा निर्धन उत्थान, आँधिखोला, सिवाइसी नेपाल, साधना, मिर्मिरे, नेरुडे, मेरो माइक्रोफाइनान्स, फरवार्ड, गुराँस, आरएमडीसी, साना किसान, फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी र जाल्पा सामुदायिक लघुवित्तले गत आवको मुनाफाबाट लाभांश प्रसताव गरिसकेका छन् ।

सो मध्ये आरएसडीसी लघुवित्त र गुराँस लघुवित्त बाहेकका सबै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेका छन् । यसैबीच एकअर्ब बढी चुक्तापुँजी रहेको डिप्रोक्स लघुवित्त संस्थाले पनि गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई राम्रै लाभांश दिन सक्ने देखिएको छ ।
डिप्रोक्स लघुवित्तले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३६.०८ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । लघुवित्तले गत आवको अन्त्यसम्ममा ५७ करोड ४० लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सोही नाफाबाट लघुवित्तले ४१ करोड ७२ लाख ५८ हजार रुपैयाँ वितरणयोग्य नाफा छुट्याएको थियो । सोही नाफाका आधारमा लघुवित्तले सो प्रतिशत नाफा बाँड्न सक्ने क्षमता राख्दछ । तर यति नै भनेर यकिन भने गर्न सकिँदैछ ।
लघुवित्तको अब छिट्टै संचालक समितिको बैठक बसेर गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्नेछ ।डिप्रोक्स लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य १५ रुपैयाँले घटेर ११२० रुपैयाँ रहेको छ ।













