मौद्रिक नीति अब हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गनुपर्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंक वार्षिक मौद्रिक अब हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) सार्वजनिक गरेको छ । संशोधित कार्यविधिमा वार्षिक मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित गरेर हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गर्ने व्यवस्था गरेको छ । त्यसैगरी त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने व्यवस्था कार्यविधिमा गरिएको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले वार्षिक मौद्रिक नीति तर्जुमाका लागि जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाका लागि हरेक त्रयमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गर्नेछ ।
अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल सम्पन्न भएपछि मौद्रिक नीतिको मस्यौदाउपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ गरिने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।












