पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकमा गाभिदै बैंक अफ काठमाण्डू, देशकै उत्कृष्ट बैंक बन्दै

३४ अर्ब चुक्ता पुँजि लिएर ३८५ शाखामार्फत सरल र उत्कृष्ट बैंकिङ सेवा दिने
२२ पुष २०७९, शुक्रबार ११:२३

काठमाडौ । यही पुस २५ गते एकीकृत कारोबार पश्चात ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंक बन्दैछ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपछि ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्ला अन्तर्गत ३८५ शाखा मार्फत ४० लाख भन्दा बढि ग्राहक माँझ आफ्नो उपस्थिति दर्शाउँदैछ । सबैभन्दा धेरै ग्राहक भएको एनआईसी एसियाको ३२ लाख ग्राहक छन्। अब ग्लोबल आइएमई बैंक ग्राहकहरुको आधारमा समेत सबैभन्दा धेरै ग्राहकसञ्जाल भएको बैंक बन्ने भएको छ ।

हाल अन्तिम चरणमा रहेको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर प्रक्रिया पूरा गरी यही पुस २५ गतेबाट एकीकृत कारोबार गर्दैैछन् । चुक्ता पुँजिको आधारमा ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा धेरै चुक्ता पुँजि भएको बैंक बन्नेछ । पुस २५ गतेबाट ग्लोबल आइएमई बैंकको कूल चुक्ता पुँजि नै ३४ अर्ब ४१ करोड पुग्नेछ।

सरल र सुलभ बैंकिङ सेवालाई आत्मसात गर्दै अघि बढेको बैंकमा आबद्ध करिब ४० लाख सँगै तीन खर्ब ८० अर्बभन्दा बढि निक्षेप परिचालन हुनेछ भने तीन खर्ब ६४ अर्ब भन्दा बढि कर्जा परिचालन भएको हुनेछ । नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा कूल राजश्वको झण्डै २५ प्रतिशत निक्षेप ग्लोबल आइएमई बैंकसँग हुनेछ।

बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान दिईसकेको छ । दुवै बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाईसकेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ स्वाप रेसियोमा मर्जरमा गएका हुन् । बैंक अफ काठमाण्डुको १०० कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन्।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं. २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने र गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल र अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर हुने व्यवस्था दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ ।बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन्मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

एकीकृत कारोबारका लागि डाटा सार्नुपर्ने भएकाले बीओकेले २२ देखि २४ गतेसम्म तीन दिन बैंकिङ कारोबार बन्द गर्ने भएको छ । ग्लोबल आइएमई सेवा चल्ने भए पनि अवरोध भने हुन सक्ने जनाइएको छ ।एकिकृत कारोबार अघि यी दुबैै कम्पनीले आफनो शेयरधनीहरुलाई साधारणसभामार्फत लाभांश वितरण गरिसकेको छ।

ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस शेयर र करसहित १०।६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने बैंक अफ काठमान्डूले पनि गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १४।९५प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

दोस्रो बजारमा ग्लोबल आइएमई बैंकको २४ करोड ५० लाख ९६ हजार २ सय ५६ कित्ता शेयर सूचीकृत रहेको छ । बैंकको कुल बजार पुँजिकरण ५१ अर्ब ७१ करोड ३१ हजार रुपैयाँ रहेको छ।

हाल रहेको दुबै बैंकको संचालक समिति
हाल बिओकेको अध्यक्षमा प्रकाश श्रेष्ठ अध्यक्ष रहेका छन् । त्यस्तै, राधेश पन्त, विजय कुमार श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, मदनलाल श्रेष्ठ, अमृता उप्रेती, मोहना लोहनी संचालक रहेका छन् ।

त्यस्तैगरि,  ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल रहेका छन् । त्यस्तै, संचालकमा सुदर्शन कृष्ण श्रेष्ठ, कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शर्मा, क्याबिनेट श्रेष्ठ र राम बहादुर भण्डारी रहेका छन् ।

अब बन्ने नँया संचालक
बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुङ्गो लागेको छ ।

मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ ।
त्यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ ।कर्मचारी व्यवस्थापनका लागि दुवै बैंकले भिरआरएस सुविधा जारी गर्ने भएका छन् । मर्जर पश्चात् दुवै बैंकका कर्मचारी जुन पोजिशनमा रहेका छन् सोही अनुसार कायम रहने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*