माघपछि ब्याजदर घट्ने, अवस्था सामान्य बन्दैछ स्वतः घट्छ: राष्ट्र बैंक

२६ पुष २०७९, मंगलवार १८:३०

काठमाडौं । माघपछि ब्याजदर घट्ने भएको छ। निजी क्षेत्रको दबाबमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत ब्याजदर घटाउन तयार देखिएपछि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स तीनवटै वर्गका वित्तीय कम्पनीहरूले ब्याजदर घटाउने तयारीमा जुटेको छ ।

राष्ट्र बैंकले अवस्था सामान्य बन्दै गएको छ स्वतः घट्न सक्छ भनेर सकारात्मक प्रतिकृया दिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ५३ खर्ब ११ अर्ब निक्षेप पुगेको छ। गत बिहीबारसम्म ५२ खर्ब ९५ अर्ब रहेको निक्षेप पाँच दिनमा १६ अर्ब बढेर ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। ऋण प्रवाह भने ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

एकैदिन बैंकहरुले ऋण प्रवाह ५ अर्ब रुपैयाँ गरेका छन्। सोमबारसम्म ऋण प्रवाह ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा मंलाबारसम्म बढेर ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.६५ प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब ३ खर्ब कर्जा दिन सक्ने देखिन्छ। यता अन्तरबैंक ब्याजदर पनि ६.१४ प्रतिशतमा पुगेको थियो।

खासगरी बैंकहरूमा रहेको स्थानीय तहको बजेटमध्ये ८० प्रतिशतलाई निक्षेपमा गणना गर्न पाउने निर्णय सरकारले गरेका कारण पनि अहिले बैंकहरूमा तरलता सहज बनेको छ। यसअघि त्यो व्यवस्था पुस मसान्तसम्मका लागि थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका थिए। निजी क्षेत्रले भने ब्याजदर तत्काल घटाउन नसके समस्या आउने बताउँदै आएका थियो।

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पुँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन्।

अहिले वाणिज्य बैंकहरूको साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत पुगेको छ। बचतको न्यूनतम् ब्याजदर अन्तर साधारण मुद्दतीभन्दा बढीमा ५ प्रतिशत हुने व्यवस्था रहेको छ। अहिले साधारण बचतको ब्याज दर ७.१३३ प्रतिशत छ। बचत खाताबीचको अन्तर बढीमा दुई प्रतिशत बिन्दु हुने भएकोले अधिकतम ब्याज ९.१३३ प्रतिशत छ।

व्यवसायीहरूले एकल अंकमा ब्याजदर तोक्नुपर्ने बताउँदै आएका छन्। माघमा केही घटाएर परिस्थिति हेरेर फागुनमा अझै ब्याजदर घटाउने तयारी बैंकर्सहरूको रहेको एक बैंकरले बताए।
बैंकहरूले पछिल्लो त्रैमासमा आधार ब्याजदर (बेस रेट) भने झनै बढाएका थिए। असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरूको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको थियो। बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेको थियो। सोही दर अहिले पनि कार्यान्वयनमा छ।

माघ १ देखि वित्तीय संस्थाहरूले आधारदर घटाउने तयारी गरेका छन्। अप्रत्यक्ष नियामकीय सुझाव तथा निर्देशन पनि यस्तै रहेको बैंकरहरूले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*