धौलागिरी लघुवित्तसँग मर्ज हुन लागेको खप्तड लघुवित्तको खुद ब्याज आम्दानी ६४% ले बढ्यो, अन्य सूचक कस्तो ?

२२ माघ २०७९, आईतवार ११:०७

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा घटेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ७८.३५ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्ममा २१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्नाले नाफामा असर परेको हो । साथै, लघुवित्तले प्रोभिजन बापत ११ लाख ९ हजार रुपैयाँ छुट्याएको छ । त्यसैले पनि नाफा प्रभावित बन्न पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी ६४% ले बढेर ७६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा खप्तडले ४६ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा भने ८९.९४% ले घटेर ३ लाख ४८ हजार रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३४ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा खप्तड लघुवित्तको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १८ लाख ९१ हजार रुपैयाँ जम्मा रहेको छ । यस संस्थाको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ७३ पैसा छ । हाल धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुने प्रक्रियामा रहेका छन् । यी दुई बीच गत मंसिर १८ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*