निर्जीवन बीमकको औसत सोल्भेन्सी मार्जिन ४.२७ गुणा, कुन कम्पनीको जोमिखधारण क्षमता कस्तो?

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन अनुपातमा समग्र सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्म १४ निर्जीवन बीमा कम्पनीको औसत सोल्भेन्सी मार्जिन अनुपात ४.२७ गुणा पुगेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्म यस्तो औसत अनुपात ३.८४ गुणा थियो। एक वर्षको अवधिमा औसत अनुपात ०.४३ गुणाले बढेको हो ।
नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थाअनुसार निर्जीवन बीमा कम्पनीहरूले न्यूनतम १३० प्रतिशत अर्थात् १.३० गुणा सोल्भेन्सी मार्जिन अनुपात कायम गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार सबै १४ कम्पनीले उक्त न्यूनतम सीमाभन्दा माथि नै रहेका छन्। सबैभन्दा कम अनुपात भएको कम्पनीको सोल्भेन्सी मार्जिनसमेत २.७३ गुणा रहेको छ जुन नियामकीय सीमाको दोब्बरभन्दा बढी हो ।
कम्पनीगत रूपमा हेर्दा सानिमा जीआईसी इन्स्योरेन्स सबैभन्दा बलियो सोल्भेन्सी मार्जिन अनुपात कायम गर्ने कम्पनी बनेको छ । कम्पनीको अनुपात ५.८५ गुणा रहेको छ। अघिल्लो वर्ष पनि सोही अनुपात कायम गरेको कम्पनीले आफ्नो स्थान यथावत् राखेको छ । दोस्रो स्थानमा रहेको प्रभु इन्स्योरेन्सको अनुपात ५.४८ गुणा पुगेको छ । अघिल्लो वर्ष ४.६६ गुणा रहेको कम्पनीको अनुपात एक वर्षमा ०.८२ गुणाले बढेको हो ।
त्यस्तै नेको इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात ५.०६ गुणा र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५.०४ गुणा रहेको छ । यी दुवै कम्पनीको अनुपात अघिल्लो वर्षकै स्तरमा छ । शिखर इन्स्योरेन्सको ४.७४ गुणा तथा युनाइटेड अजोड इन्स्योरेन्सको ४.२९ गुणा अनुपात कायम भएको छ । यी कम्पनीले पनि अघिल्लो वर्षको अनुपातलाई निरन्तरता दिएका छन् ।
नेपाल इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात भने सामान्य घटेको छ । अघिल्लो वर्ष ४.३३ गुणा रहेको कम्पनीको अनुपात चालु आर्थिक वर्षको असोजसम्म ४.२८ गुणा कायम भएको छ। त्यस्तै एनएलजी इन्स्योरेन्सको अनुपात ३.४२ गुणाबाट बढेर ४.२४ गुणा पुगेको छ । यस कम्पनीको अनुपात एक वर्षमा ०.८२ गुणाले वृद्धि भएको हो ।

सोल्भेन्सी मार्जिन अनुपातमा सबैभन्दा ठूलो सुधार गर्ने कम्पनी नेशनल इन्स्योरेन्स बनेको छ। अघिल्लो वर्ष असोजसम्म १.६७ गुणा रहेको कम्पनीको अनुपात यस वर्ष ४ गुणा पुगेको छ । एक वर्षमा २.३३ गुणाले वृद्धि भएको यो तथ्यांकमा सबैभन्दा ठूलो सुधार हो। त्यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्सको अनुपात ३.३२ गुणाबाट बढेर ३.९४ गुणा र राष्ट्रिय बीमा कम्पनीको २.७३ गुणाबाट बढेर ३.६२ गुणा पुगेको छ ।
यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स अर्थात सलिकोको सोल्भेन्सी मार्जिन अनुपात २.७५ गुणाबाट बढेर ३.३१ गुणा पुगेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले अघिल्लो वर्षकै ३.१८ गुणा अनुपात कायम राखेको छ । सबैभन्दा कम अनुपात रहेको ओरियन्टल इन्स्योरेन्सको पनि अनुपात २.६६ गुणाबाट बढेर २.७३ गुणा पुगेको छ ।
समग्र तथ्यांकअनुसार १४ मध्ये सात कम्पनीको सोल्भेन्सी मार्जिन अनुपातमा वृद्धि भएको छ भने ६ कम्पनीको अनुपात अघिल्लो वर्षकै स्तरमा रहेको छ। एक कम्पनीको अनुपातमा सामान्य गिरावट आएको छ । समग्र औसत अनुपात ३.८४ गुणाबाट बढेर ४.२७ गुणा पुग्नुले निर्जीवन बीमा क्षेत्रको समग्र सोल्भेन्सी स्थितिमा सुधार आएको देखिन्छ ।
बीमा कम्पनीले भविष्यमा आइपर्न सक्ने आर्थिक दायित्व पूरा गर्न सक्ने क्षमता कति छ भन्ने मापन गर्ने सूचकनै सोल्भेन्सी मार्जिन अनुपात हो । यस्तो अनुपात जति धेरै भयो सामान्यतया कम्पनीको जोखिमधारण क्षमता उति नै बढी हुन्छ । गत वर्षको जेनजी आन्दोलनका साथै बाढी पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरुमा दाबीको चाप बढ्दा पनि सोल्भेन्सी मार्जिन अनुपात नियामकीय मापदण्डभन्दा माथि रहनुले जोखिमधारण क्षमता अझै उच्च रहेको देखिन्छ।











