धितोपत्र बजार पुँजीकरण ३१ खर्बमाथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

२३ माघ २०७९, सोमबार १६:३७

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पुष मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७९ पुष मसान्तसम्म ३१ अर्बमाथि धितोपत्र बजार पुँजीकरण कायम भएको हो ।

गत वर्षको यसै अवधिसम्म धितोपत्र बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धितोपत्र बजार पुँजीकरणको हिस्सा घट्न पुगेको हो ।

त्यस्तै, २०७८ पुस मसान्तमा २८५७.८ रहेको नेप्से सूचकाङ्क २०७९ पुस मसान्तमा २१४९.४ कायम भएको छ । २०७९ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २२५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १२.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९।८० को छ महिनामा रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.११ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.१० अर्ब ८० करोड बराबरको बोनस शेयर, रु.४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.३ अर्ब ६७ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.९४ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*