योजनाको भुक्तानी र धरौटी फिर्ता गर्न ३ लाख ४५ हजार घुस लिएको आरोपमा दुई कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोतसम्बन्धी योजनाको भुक्तानी र धरौटी रकम फिर्ता गरिदिने भन्दै ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा दुई सरकारी कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगन्जमा कार्यरत अधिकृत छैटौँ (प्राविधिक) गजेन्द्र प्रसाद जायसवाल र विकी यादवविरुद्ध आरोपपत्र दायर गरिएको हो। उनीहरूले आर्थिक वर्ष २०८२/८३ मा ठोरी गाउँपालिका–३ मा सम्पन्न ‘जलस्रोतको पुनर्भरण तथा भण्डारण कार्य (सार्वजनिक इनार तथा पोखरीको निर्माण र मर्मतसम्भार)’ योजनाको भुक्तानी तथा धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आयोगको दाबी छ।
आयोगमा प्राप्त उजुरी तथा दसी प्रमाणका आधारमा गरिएको अनुसन्धानबाट दुवै कर्मचारीले आपसी मिलेमतोमा सेवाग्राहीसँग रकमका लागि बार्गेनिङ गरेको खुलेको आयोगले जनाएको छ। उनीहरू ३ लाख ४५ हजार रुपैयाँ घुस लिन सहमत भएको र पूर्वयोजना तथा सहमतिअनुसार जायसवालले कार्यालय समयमा रकम लिन नमिल्ने भन्दै सोही स्थानमा रहेका अर्का व्यक्तिलाई रकम दिन लगाएको अनुसन्धानबाट पुष्टि भएको आयोगको भनाइ छ।
उक्त रकम ती व्यक्तिमार्फत लिएको पुष्टि भएको आधारमा दुवै कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरमा प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूविरुद्ध ३ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी गरेको छ।











