अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुले आवेदन दिने आज (जेठ १६ गते) अन्तिम दिन रहेको छ ।
त्यसैगरी, कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन म्याद भने थप गरेको छ। कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले अब जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो आईपीओमा लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ्ग गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडा गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८ तथा सिमपानी गाविस वडा नं ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।












