पुँजीगत लाभकर नघट्ने भएपछि शेयरबजारमा भारि अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार खुलेको केही समयमा नै भारि गिरावट आएको छ । बजेट घोषणाको पखाईमा बसेका आम लगानीकर्ताहरु निराश बन्न पुगेका छन् ।
लगानीकर्ताहरुले माग राख्दै आएको पुँजीबजार उत्थानका विषयहरु सम्बोधन हुन नसक्दा नेप्से सूचक ३८ अंकले घट्न पुगेको छ । लगानीकर्ताहरुले माग राख्दै आएका पुँजीगत लाभकर घटाउनुपर्ने विषय आगामी आवको बजेटमा सम्बोधन हुन नसकेका कारण शेयरबजारमा भारी गिरावट आएको छ ।
लगानीकर्ताहरुले अल्पकालिनका लागि ५ प्रतिशत र दीर्घकालिनका लागि ३ प्रतिशत कमिशन कायम गर्नुपर्ने माग गर्दै आएका थिए । तर सरकारले ल्याएको आर्थिक विधेयक २०८० मा पुँजीगत लाभकरलाई यथावत राखिएको छ । जसका कारण आज शेयरबजार खुलेको केही समयमा नै भारि अंकको गिरावट आएको छ ।
हाल पुँजीबजारमा अल्पकालिन र दीर्घकालिन लगानीकर्ताका लागि पुँजीगत लाभकरमा फरक–फरक व्यवस्था रहेको छ । ३६५ दिनभन्दा कम अवधि शेयर होल्ड गर्ने अल्पकालिन लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढी शेयर होल्ड गर्ने लगानीकर्तालाई ५ प्रतिशत लाभकरको व्यवस्था रहेको छ । उक्त पुँजीगत लाभकर बढी भएको भन्दै शेयर लगानीकर्ताहरुले घटाउनुपर्ने माग राख्दै आएका थिए ।













