पुँजीगत लाभ करलाई अन्तिम कर कायम गर्नुपर्ने लगानीकर्ताहरुको माग, सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । शेयर लगानीकर्ताहरुले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन माग गरेको छ । लगानीकर्ताहरुको तीनवटा संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम नगरेमा लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रने बताएका छन् ।
नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै आजका मितिसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्फत गरिएको कारोबार व्यवसायको रूपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनु पर्ने शीर्षकमा नरहेको देखिएको उल्लेख गरेका छन् ।
व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५% र ७.५% श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन उनीहरुले माग गरेका छन् । अन्यथा शेयरबजारमा लगानी गर्ने लाखौँ लगानीकर्ताहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी संघहरुले दिएका छन् ।
आगामी आर्थिक वर्ष २०८०।८१ बजेट घोषणामा शेयर लगानीकर्ताहरुलाई लक्षित गरी बजेट नआएको भनी लगानीकर्ताहरुले चर्को आलोचना गरिरहेका छन् । विशेषगरी लगानीकर्ताहरुले पुँजीगत लाभकर घटाउने माग गर्दै आइरहेकोमा बजेटमार्फत हालको पुँजीगत लाभकरलाई नै कायम राखिएको र मर्जरमा गएका कम्पनी र एफपीओ निष्काशन गर्ने कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेसँगै लगानीकर्ताहरुले यसको घोर भत्सर्ना जनाएका हुन् ।













