शेयर बजारमा सुधारको संकेत, लगानीकर्ताले कस्ता शेयर खरिद गर्ने त ?

काठमाडौं । नेप्सेमा क्रमश सुधार आउने क्रम देखिएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा सुधार हुँदै गएको छ । तर आन्तरिक अर्थतन्त्रमा भने समस्या जारी छ ।शेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर परिसूचक १९८७.८७ बिन्दुमा रोकिएको छ ।२८५ कम्पनीको ७४ लाख ५४ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर किनबेच भएको छ ।कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ३.०१, होटल ४५१.९९, जीवन बीमा ७.६६, उत्पादन तथा प्रशोधन १०२.९९, माइक्रोफाइनान्स समूहको उपसूचक १४.९४ अंकले बढेको छ । यस्तै विकास बैंक १८.६३, वित्त १६.२५, जलविद्युत ७.८८, निर्जीबन बीमा समूहको उपसूचक ५.७० अंकले घटेको छ ।बैंक ब्याजदर भने घट्न थालेको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुन थालिसकेको छ । सीडी रेसियो ८४ कै लाइनमा आएको छ । यो सकारात्मक पक्ष हो । तर अझै पनि पुँजी बजारमा नीतिगत अवरोध भने जारी नै छ ।

केन्द्रीय बैंकले सेयर धितो कर्जामा जोखिमभार घटाएको छैन । यसरी आम लगानीकर्ताले सकारात्मक र नकारात्मक दुवै पक्षलाईई केलाएर हेर्न सोही अनुसार निर्णय गर्नुपर्ने हुन्छ । हाम्रो बजार निश्चित अवधिको बुल र बियर चक्रमा हिँड्ने गरेको छ।यसलाई आधार मान्ने हो भने पनि अब विस्तारै बियरिस चक्र समाप्त हुनुपर्ने जानकारहरु बताउँछन् । किन भने बजारले झन्डै २२ महिनाको वियरिस चक्र पूरा गरेको छ । तथापि, बजार लगातार बढ्ने वा घट्नेमात्र गर्दैन ।
तलमाथि हुँदै अघि बढ्ने प्रवृत्ति हुन्छ । यसर्थ, आम लगानीकर्ताले सोही अनुसार आफ्ना रणनीतिहरु तय गर्नुपर्ने जानकारहरुको भनाइ रहने गरेको छ ।
आम लगानीकर्ताले पनि सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता अब्बल रहेका कम्पनीहरुमा सकेसम्म लामो अवधि होल्ड गर्ने हिसाबले सेयर खरिद गर्नुपर्ने उनीहरुको भनाई छ ।
त्यस्तै, भारतीय शेयर बजारमा समेत सुधार हुँदै गएको देखिन्छ ।












