२ हजारको विन्दुमा उक्लियो नेप्से, कारोबार ४ अर्बमाथि

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २०१८ विन्दुमा उक्लिएको छ ।
लामो समयको अन्तरालपछि नेप्से इन्डेक्स २ हजारको विन्दुमा उक्लिएको हो । अर्थसमितिले हिजो मात्रै नयाँ स्टक र ब्रोकर लाइसेन्स प्रक्रिया रोकेसँगै आजको मार्केट घट्ने प्रक्षेपण गरिएतापनि शेयरबजारले सुधारको गति लिएको हो ।
शेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुमा पनि गुट रहेका छन् । केही थरि लगानीकर्ताहरुले नयाँ स्टक र ब्रोकर कम्पनीको लागि लाइसेन्स बाँड्दा लगानीकर्तालाई घातक हुने भन्छन्, भने केही लगानीकर्ताहरुले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढ्नुपर्ने र नयाँ स्टक आउनुपर्ने माग गर्छन् ।
अर्थसमितिको निर्णयले मार्केट घट्ने अनुमान लगाएतापनि आज शेयरबजार १.६३ प्रतिशतले बढेर २ हजारको विन्दुमाथि उक्लिएको हो । नेप्सेमा सूचीकृत २७० कम्पनीको १ करोड ७ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नयाँ वर्ष २०८० मा शेयरबजारमा ४ अर्बमाथिको कारोबार आज पहिलोपटक हो । शेयरबजारप्रति लगानीकर्ताहरु उत्साहित बन्दा कारोबार रकम ह्वात्तै बढेको हो ।
नेप्सेमा रहेका सबै उपसूचकहरु आज बढेका छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन उपसूचक ४.३२ प्रतिशतले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स इन्डेक्स २.६४ प्रतिशत, लाइफ इन्स्योरेन्स इन्डेक्स २.७३ प्रतिशतले बृद्धि भएको छ ।












