दोभान हाइड्रोले करिब २३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको २२ लाख ८० हजार कित्ता शेयर जारी गर्ने भएको हो ।
कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र दोभान हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक पुरञ्जन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजनामा लगानी गर्न कम्पनीले आफ्नो जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम २२ करोड ८० लाख बराबरको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कामदार÷कर्मचारीलाई जारी गर्न लागेको हो ।
यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ के.भी. तिङ्गला लमाने सव– स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।












