ओली सरकारसँग वार्ता गर्ने बिद्रोही नेकपाको निर्णय, बिप्लवमाथिको प्रतिबन्ध हटाइदै

८ फाल्गुन २०७७, शनिबार १७:०१

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले आज बिज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको हो ।

महासचिव बिप्लवद्वारा जारी बिज्ञप्तिमा सरकारले सार्वजनिक रुपमा राजनीतिक गतिविधि गर्न सक्ने अवस्थाको सिर्जना गरेमा सरकारसँग वार्ता गर्न तयार रहेको जानकारी गराएका छन् । २०५२ सालदेखि २०६२ सालसम्म चलेको जनयुद्धमा सहभागी भएको तत्कालिन नेकपा माओवादीबाट बिभाजित भई बनेको नेकपामाथि सरकारले विगत दुई वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ ।

उता, केपी ओली नेतृत्वको सरकारले बिद्रोही नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार बिप्लवमाथिको प्रतिबन्ध फुकुवा तथा झुठा मुद्दामा कारागारमा रहेका नेताहरुलाई रिहाई गर्न सरकारले सहमति जनाएको छ । सो सहमति अनुसार आजै साँझ वा भोलिसम्ममा बिद्रोही नेकपामाथिको प्रतिबन्ध हटाइने जनाएको छ । दुई पक्षबीच वार्ता गर्न भने केही समय लाग्ने छ । वार्ताको लागि कमिटी गठन गर्ने, मागहरु औपचारिक रुपमा आदानप्रदान गर्न थप समय लाग्नु अनुमान गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*