जीवन बीमा कम्पनीहरुको मुनाफा २३ प्रतिशतले बृद्धि, कसको अवस्था कस्तो ?

१३ फाल्गुन २०७७, बिहीबार ११:१४

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीहरुको मुनाफा २३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ भने केही कम्पनीहरुको मुनाफा भने घटेको छ । कूल १९ वटा जीवन बीमा कम्पनी मध्ये वित्तीय विवरण प्रकाशन गरेका १८ वटा जीवन बीमा कम्पनीहरुको खुद मुनाफा गत आवको तुलनामा २३ प्रतिशतले बृद्धि भएको हो ।

प्रकाशित विवरण अनुसार १८ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब ४३ करोड ५९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको खुद नाफा एक अर्ब ९६ करोड ८० लाख २० हजार रुपैयाँ रहेको थियो ।

छ महिनाको समीक्षा गर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरी पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीको मुनाफा गत आवको तुलनामा झण्डै सात करोड रुपैयाँले बढाउन सफल भएको छ । गत आवमा कम्पनीको मुनाफा ३५ करोड ९ लाख रुपैयाँ थियो ।

मुनाफाको आधारमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बन्न पुगेको छ । सो कम्पनीले चालु आवको छ महिनामा २३ करोड ६५ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । सो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, तेस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षमा १५ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको सो कम्पनीले यस वर्ष मुनाफामा उच्च अंकले बृद्धि गर्दै तेस्रो स्थानमा पुगेको हो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी खुद मुनाफाको आधारमा चौथो स्थानमा देखिएको छ, सो कम्पनीले गत माघ समान्त सम्ममा १९ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १७ करोड, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १७ करोड मुनाफा आर्जन गर्न सफल भएका छन् ।

अमेरिकी कम्पनी मेट लाइफ इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ३३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । एलआइसी नेपाल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड नाफा कमाएका छन् ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १० करोड ७८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ भने, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठ करोड, र प्रभु लाइफले आठ करोड मुनाफा आर्जन गर्न सफल भएका छन् ।

उता, आइएमई लाइफले ७ करोड ४० लाख रुपैयाँ र युनियन लाईफले छ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । रिलायन्स लाइफ, सन नेपाल लाइफ,सानिमा लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पाँच करोड नाफा कमाएका छन् ।

जीवन बीमा कम्पनीहरुको मुनाफाले कम्पनीको बलियोपनाको प्रतिनिधित्व गर्दैन । यद्यपि शेयर लगानीकर्ताहरुको लागि प्रतिफल लिन भने मुनाफा महत्वपूर्ण छ । जीवन बीमा कम्पनीहरुले लेखा परिक्षण अघि गर्नै पर्ने बीमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा हेरफेर हुनसक्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*